रसुवा । २०८३ कात्तिक ९ गते
रसुवागढी जलविद्युत् आयोजनाले भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीमा बेपत्ता तथा मृत्यु भएका कर्मचारीका ४७ परिवारलाई प्रतिपरिवार ५ लाख रुपियाँका दरले राहत उपलब्ध गराएको छ।
गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेस्थित आयोजनामा बाढीका कारण कार्यरत ५२ जना कर्मचारी बेपत्ता भएको कम्पनीले जनाएको छ। तीमध्ये नियमित तथा करार सेवातर्फका ५० जना र दैनिक ज्यालादारीतर्फका दुई जना थिए। विभिन्न ठेकेदार कम्पनीमा कार्यरत ३९ जना कर्मचारी तथा कामदारसमेत बेपत्ता भएको कम्पनीले जनाएको छ।
कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार बेपत्ता कर्मचारीको खोजी तथा उद्धारका लागि उपलब्ध स्रोतसाधन परिचालन गरिए पनि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन। बाढीका कारण आयोजनाका अधिकांश संरचनामा क्षति पुगेको छ भने स्याफ्रुबेंसीदेखि आयोजनास्थलसम्म पुग्ने सडक र छ वटा पक्की पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

सडक तथा पुल पुनर्निर्माण नभएसम्म आयोजनास्थलमा आवश्यक मेसिनरी, उपकरण र निर्माण सामग्री पुर्याउन नसकिने कम्पनीले जनाएको छ। त्यसैले आयोजनाको पुनर्निर्माण, मर्मतसम्भार तथा अन्य गतिविधि अघि बढाउन सडक र पुलको पुनर्निर्माण आवश्यक रहेको कम्पनीको भनाइ छ।
बाढीबाट प्रभावित कर्मचारीका परिवारसँग भेटघाट गर्दा अधिकांशको आर्थिक अवस्था कमजोर रहेको र तत्काल आर्थिक सहयोग आवश्यक देखिएकाले सञ्चालक समितिले नजिकका हकवालालाई प्रतिकर्मचारी पाँच लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको कम्पनीले जनाएको छ।
हालसम्म प्राप्त कागजातका आधारमा बेपत्ता तथा मृतक गरी ५३ जना कर्मचारीका परिवारमध्ये ४७ परिवारको बैंक खातामा राहत रकम जम्मा गरिसकिएको छ। आवश्यक कागजात प्राप्त भएपछि बाँकी परिवारलाई पनि राहत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीले पीडित परिवारलाई नियमानुसार प्राप्त हुने बीमा तथा अन्य सुविधाका लागि सहजीकरण गर्ने र परिवारबाट प्राप्त माग सम्बोधन गर्न आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL