बर्दिया । २०८३ असोज ३० गते
भोटेकोशीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका ७६ जनाको अवस्था ४५ दिनभन्दा बढी समय बितिसक्दा पनि अज्ञात छ। आफ्ना आफन्तको अवस्था थाहा नपाउँदा उनीहरूका परिवार गहिरो पीडामा छन्। दशैँलगायतका चाडपर्व नजिकिँदै गर्दा परिवारका सदस्यको खोजी, घटनाबारे यथार्थ जानकारी र राज्यबाट आवश्यक सहयोग पाउने आशामा उनीहरू दिन बिताइरहेका छन्।
सम्पर्कविहीन भएका आफन्तको खोजीमा राज्यले के गरिरहेको छ? अब राज्यले के गर्नुपर्छ? परिवारका तत्कालका माग र अपेक्षा के छन्? लामो समयसम्म आफन्तको अवस्था थाहा नहुँदा उनीहरूले कस्तो पीडा भोगिरहेका छन् र राज्यप्रति उनीहरूको धारणा कस्तो छ? यिनै विषयमा इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलले सम्पर्कविहीन व्यक्तिका परिवारका सदस्यसँग गर्नुभएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ।
रामचरण थारू

राजापुर नगरपालिका–८, कोइली
रसुवामा निर्माणाधीन भन्सार कार्यालयमा ज्यालामजदुरी गर्न गएका २५ वर्षीय छोरा राजदीप दहित बाढीपछि सम्पर्कविहीन भएको रामचरण थारूले बताउनुभयो।
उहाँले भन्नुभयो, “बाढी आउनुभन्दा एक महिनाअघि मात्रै छोरा कमाउन गएको थियो। मेरा तीन छोरी र एक छोरा थिए। छोराको विवाह भएको पनि एक महिना मात्रै भएको थियो। तर बाढीमा परेपछि छोरा सम्पर्कविहीन भयो। छोराको खोजीमा चितवनसम्म पनि पुगेँ।”
उहाँका अनुसार अहिलेसम्म छोराको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। खोजीका लागि जान पालिकाले सहयोग गरेको र डीएनए परीक्षणका लागि नमुना दिएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “डीएनएको नतिजा कहिले आउँछ भन्ने थाहा छैन। छोराबारे केही जानकारी आएको भए परिवारले यसरी अन्योलमा बस्नुपर्ने थिएन। चाडपर्व नजिकिएका छन्। यस्तो अवस्थामा के गर्ने भन्ने नै थाहा छैन। छोराको सास वा लास जे भए पनि भेटिएको भए चित्त बुझाउने बाटो हुन्थ्यो।”
नेपाली चौधरी
राजापुर नगरपालिका–८, कोइली

खेतको काम सकेर कमाउन रसुवा पुगेका ३४ वर्षीय पति उदीप चौधरी रसुवामा निर्माणाधीन भन्सार कार्यालयबाट सम्पर्कविहीन भएको नेपाली चौधरीले बताउनुभयो।
उहाँले भन्नुभयो, “मेरो पतिले कमाएर ल्याएको पैसाले परिवारको जीवनयापन हुँदै आएको थियो। उहाँ सम्पर्कविहीन हुनुभएको पनि ४५ दिनभन्दा बढी भइसक्यो। अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। चाडपर्व नजिकिँदै छन्, तर पतिको अवस्थाबारे केही खबर आएको छैन। उहाँ बेपत्ता भएपछि छोराछोरीको हेरचाह र पालनपोषण कसरी गर्ने भन्ने चिन्ता थपिएको छ।”
मोति थारू
राजापुर नगरपालिका–९, तिनघरुवा

रसुवामा आएको बाढीमा परी भदौ १० गतेदेखि २८ वर्षीय नाति सिसन थारू सम्पर्कविहीन भएको मोति थारूले बताउनुभयो। नातिको खोजीमा आफू चितवनसम्म पुगेको र सिसनकी आमाले डीएनए परीक्षणका लागि नमुना दिएर आएको उहाँले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “नाति बेपत्ता भएपछि खोजीका लागि चितवनसम्म पुगेँ। सिसनकी आमाले डीएनए परीक्षणका लागि नमुना दिएर आएकी छन्। चाडपर्व नजिकिँदै छन्। घरमा भएकी सानी नातिनीले ‘बुबा कहिले आउनुहुन्छ?’ भनेर सोधिरहन्छिन्। कम्तीमा नातिको सास वा लास जे भए पनि देख्न पाए हुन्थ्यो भन्ने लाग्छ।”
सृजना थारू
राजापुर नगरपालिका–९, तिनघरुवा

रसुवामा निर्माणाधीन भन्सार कार्यालयमा मजदुरी गर्न गएका पति ३१ वर्षीय प्रदीपकुमार थारू भोटेकोशीको बाढीमा परी सम्पर्कविहीन भएको सृजना थारूले बताउनुभयो।
उहाँले भन्नुभयो, “घरमा कमाएर ल्याउने मेरो पति नै हुनुहुन्थ्यो। उहाँ बेपत्ता भएपछि परिवारको आम्दानीको स्रोत बन्द भएको छ। एकातिर पतिको अवस्था थाहा छैन भने अर्कोतिर दुई छोरीको पालनपोषण र शिक्षादीक्षासहित परिवारको जीवनयापन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ।”
उहाँले बाढीमा परी सम्पर्कविहीन भएका व्यक्तिका परिवारको अवस्थाबारे राज्यले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कम्तीमा सरकारले सम्पर्कविहीन भएका व्यक्तिका परिवारको जीवनयापन सहज हुने व्यवस्था गर्नुपर्छ।”
रमिता थारू
राजापुर नगरपालिका–९, तिनघरुवा

खेतको काम सकेपछि खाली बस्नुभन्दा केही आम्दानी होला भन्ने आशाले रसुवामा निर्माणाधीन भन्सार कार्यालयमा काम गर्न गएका पति ३७ वर्षीय सुरेश थारू बाढीमा परी सम्पर्कविहीन भएको रमिता थारूले बताउनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो परिवारमा चार जना थियौँ। पति सम्पर्कविहीन भएपछि अहिले घरमा दुई छोरी र म मात्रै छौँ। पतिले कमाएर ल्याएको पैसाले परिवारको गुजारा चल्थ्यो। उहाँ सम्पर्कविहीन भएपछि अब कसरी जीवनयापन गर्ने भन्ने चिन्ता थपिएको छ। चाडपर्व नजिकिँदै छन्। गाउँमा धेरैका परिवार घर फर्किएका छन्, तर हाम्रो परिवार भने पीडामा छ। पतिको काजकिरिया गर्ने कि नगर्ने भन्नेबारे पनि केही निर्णय गर्न सकेकी छैनँ।”
तुलाराम थारू
राजापुर नगरपालिका–९, तिनघरुवा

कामको सिलसिलामा रसुवा पुगेका २८ वर्षीय भाइ राजु थारू भन्सार कार्यालयको भवन निर्माणस्थलबाट सम्पर्कविहीन भएको तुलाराम थारूले बताउनुभयो।
उहाँले भन्नुभयो, “भाइको खोजी गर्न चितवनसम्म पुगेको थिएँ। त्यसभन्दा अगाडि जान सक्ने अवस्था नभएपछि त्यहीँबाट फर्किएँ। भाइको शव भेटिएको छैन। कतै फर्केर आइहाल्छ कि भन्ने आशा पनि लाग्छ। गाउँमा चाडपर्वको रौनक छाएको छ र कमाउन गएकाहरू घर फर्किरहेका छन्। तर मेरो भाइको न सास भेटिएको छ, न लास। त्यसैले चाडपर्व नजिकिँदा पनि हाम्रो परिवार पीडामै छ।”
भरतु थारू
राजापुर नगरपालिका–९, तिनघरुवा

रसुवामा काम गर्न गएका २४ वर्षीय छोरा अमिश थारू भदौ १० गतेको बाढीमा परी सम्पर्कविहीन भएको भरतु थारूले बताउनुभयो। उहाँका अनुसार छोरा साउन १४ गते कमाउनका लागि घरबाट निस्किएका थिए। छोराको विवाह भएको पनि एक महिना मात्रै भएको थियो।
उहाँले भन्नुभयो, “छोराले ‘कमाएर ल्याउँछु, दसैँको खर्च चल्छ, बुवा, म जान्छु’ भनेर घरबाट गएको थियो। तर बाढीमा परेर छोरा बेपत्ता भयो। यस वर्ष चाडपर्व नमनाउने निर्णय गरेका छौँ। छोरा कतै आइहाल्छ कि भन्ने आशा अझै छ। छोराको सास नभए पनि लास भेटिएको भए चित्त बुझाउने बाटो हुन्थ्यो।”
रमेश कुमार चौधरी
वडा सचिव, राजापुर नगरपालिका–९

राजापुर नगरपालिका–९ का वडा सचिव रमेश कुमार चौधरीले सम्पर्कविहीन व्यक्तिहरूको नामावली सङ्कलन गरी सम्बन्धित निकायमा पठाइएको बताउनुभयो। उहाँका अनुसार परिवारका सदस्यलाई डीएनए परीक्षणका लागि गुलरिया लैजान पनि सहयोग गरिएको छ।
उहाँले भन्नुभयो, “वडा र पालिकाको समन्वयमा खोजी कार्यका लागि जान आर्थिक सहयोग गरिएको छ। गाउँका बडघरमार्फत सङ्कलन गरिएको राहत रकम पनि सम्पर्कविहीन व्यक्तिका परिवारलाई उपलब्ध गराइएको छ।”
प्रकाश पौडेल
HUMAN RIGHTS NEWS PORTAL