मकवानपुर । २०८३ कात्तिक १० गते

रसुवाको भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ । राष्ट्रिय योजना आयोगको सर्वेक्षणअनुसार बाढीबाट नुवाकोट, रसुवा, धादिङ र गोरखा गरी चार जिल्लाका ३२ हजार ८ सय ७२ जना प्रभावित भएका छन् भने २ हजार ९ सय ८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । कुल ६ हजार ८ सय १७ घरपरिवार र ४ सय ९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ ।

जिल्लागत रूपमा नुवाकोटमा सबैभन्दा बढी ३ हजार ८ सय ४१ घरपरिवार प्रभावित भएका छन्। रसुवामा १ हजार ९ सय २०, धादिङमा ९ सय ४८ र गोरखामा १ सय ८ घरपरिवार प्रभावित भएका छन् ।

बाढीबाट सबैभन्दा बढी क्षति जग्गाजमिनमा पुगेको छ । तीन हजार ६ सय १० परिवारको ५ सय७.९७ हेक्टर जग्गामा क्षति पुगेको छ, जसको प्रारम्भिक मूल्याङ्कन ३५ अर्ब ४४ करोड रुपैयाँ गरिएको छ । यस्तै, घरको घडेरीमा १३ अर्ब २६ करोड र घर निर्माण लागतमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

कुल ४ हजार १ सय ५१ क्षतिग्रस्त भवन संरचनामध्ये २ हजार ९ स ८९ आवासीय संरचना पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै, ३ हजार १ सय ९४ संरचना पुनःप्रयोग गर्न नसकिने अवस्थामा रहेको सर्वेक्षणले देखाएको छ।

बाढीले कृषि उत्पादन र जीविकोपार्जनमा समेत असर पारेको छ। खेतबारीको बालीमा २३ करोड २१ लाख, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख तथा पशुपन्छी र माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। परिवारले प्रयोग गर्ने सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।

व्यवसाय तथा प्रतिष्ठानतर्फ थोक तथा खुद्रा व्यापार सबैभन्दा बढी प्रभावित भएको छ। यस क्षेत्रमा ७ सय ७४ प्रतिष्ठान प्रभावित भएका छन्। आवास तथा खाद्य सेवा क्षेत्रका ३ सय ३७, कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १ सय ६६ र अन्य सेवा क्षेत्रका १ सय ३६ प्रतिष्ठानमा असर परेको छ।

बाढी प्रभावित परिवारको पुनःस्थापनासमेत चुनौतीपूर्ण देखिएको छ। सर्वेक्षणमा समेटिएका ३ हजार ६७ परिवारमध्ये ७ सय ९७ परिवारले बाढीअघि बसोवास गरिरहेको स्थानमै फर्कन चाहेका छन्। सरकारले उपलब्ध गराउने स्थानमा बस्न चाहने ९ सय ३९ र सरकारी सामूहिक आवासमा बस्न चाहने ५ सय ९० परिवार छन्।

राष्ट्रिय योजना आयोगले चार जिल्ला र १५ स्थानीय तहमा ५८ टोली तथा १ सय ५६ जनशक्ति परिचालन गरी सर्वेक्षण गरेको जनाएको छ। अनलाइन एप र ट्याब्लेटमार्फत विवरण सङ्कलन गरिएको उक्त सर्वेक्षणमा ७ हजार ३ सय १६ घरपरिवार, व्यवसाय तथा प्रतिष्ठानको विवरण समेटिएको छ।

मन्जिता मैनाली