मकवानपुर । २०८३ कात्तिक १० गते
रसुवाको भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका हेटौँडा उपमहानगरपालिका–३ का कन्टेनर चालक घनश्याम बस्नेतको परिवारले ०८३ कार्तिक ९ गते हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती नदीकिनारमा हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
‘मिलन’ नामले चिनिने बस्नेत रसुवागढी नाकाबाट सामान जाँचपास गरी फर्कने क्रममा भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो ।
मधेश प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चालक बस्नेतको लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको मृतकका काका इन्द्रमानसिं बस्नेतले जानकारी दिनु भयो ।
घनश्यामको परिवारमा आमा, पत्नी र छोरी छन् । परिवारका मुख्य आर्थिक आधार रहेका उहाँ बेपत्ता भएपछि परिवार आर्थिक संकटमा परेको छ ।

त्यस्तै, रसुवाको भोटेकोशी नदिमा ०८३ भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका हेटौँडा उपमहानगरपालिका–११ का कन्टेनर चालक प्रेमकुमार बर्तौलाको ०८३ का र्तिक ९ गते कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
अभिषेक तथा विमल नामले समेत चिनिने बर्तौलाको अवस्था दुई महिनासम्म अज्ञात रहेपछि परिवारले हिन्दु परम्पराअनुसार देवघाटधाममा कुशको शव बनाएर अन्त्येष्टि गरेको हो। बाढीमा बेपत्ता भएका बर्तौलालाई विभिन्न प्रयास गर्दा पनि फेला पार्न नसकेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय गरेको दाजु श्रीपुजन बर्तौलाले बताउनु भयो ।

“बाढीसँगै बेपत्ता भएका भाइको भएभरको जुक्ति लगाएर खोजतलास गर्दा पनि नभेटिएपछि दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि गरेका हौँ,“ उहाँले भन्नुभयो, “यो दुई महिनाको अवधि हाम्रो परिवारका लागि निकै कष्टकर रह्यो।“
बर्तौला गत भदौ १० गते रसुवाको टिमुरेबाट सम्पर्कविहीन हुनुभएको थियो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार भदौ १० गते रसुवामा आएको बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन तथा प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ ।
बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा पीडित परिवारले अन्योल र मानसिक पीडा भोग्दै आएका छन्।
मन्जिता मैनाली
HUMAN RIGHTS NEWS PORTAL