धादिङ । २०८३ कात्तिक १८ गते

भोटेकोशी बाढीले मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न ०८३ कार्तिक १८ गतेदेखि फुर्केखोलामा अस्थायी पन्टुन पुल निर्माण सुरु गरिएको छ । धादिङका १३ वटै स्थानीय तहको साझा सहमतिमा पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो।

धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले पन्टुन पुल निर्माण तथा सञ्चालनको खर्च सबै पालिकाले साझा रूपमा व्यवस्थापन गर्ने सहमति गरेको छ। यसका लागि अन्तरपालिका कार्यविधि बनाएर आवश्यक बजेट जुटाइने निर्णय भएको छ।

बर्दियाको राजापुर सिँचाइ आयोजनाअन्तर्गत रहेको पन्टुन पुल फुर्केखोलामा ल्याउन ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैलाई समन्वयको जिम्मेवारी दिइएको छ। पुल ल्याउन तथा सञ्चालन गर्न सिँचाइ विभाग र सम्बन्धित सरकारी निकायसँग आवश्यक अनुमति र समन्वय गरिनेछ। कार्तिक १७ गते पुल ढुवानी सुरुभएसंगै कातिृक १८ गतेबाट फुर्केखोलामा पानीमाथी तैरिने पन्टुम पुल निर्माण हुने छ ।

फुर्केखोलामा पन्टुन पुल सञ्चालनमा आएपछि धादिङका उत्तरी तथा मध्य भेगका साथै गोरखा र नुवाकोटका बासिन्दालाई समेत पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवनलगायतका जिल्लामा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। पुल बगाएपछि लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य यात्रु, बिरामी, व्यवसायी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा संलग्न सर्वसाधारणलाई यसबाट राहत पुग्नेछ।

भदौ १० गतेको बाढीले फुर्केखोलासहित घाटबेँसी र जहरेका पक्की पुल बगाएपछि जिल्लाको सडक सम्पर्क प्रभावित बनेको थियो। स्थानीय तहहरूले तत्कालका लागि पन्टुन पुल सञ्चालन गर्ने र दीर्घकालीन समाधानका लागि फुर्केखोलामा स्थायी पक्की पुल निर्माण गर्न संघ तथा प्रदेश सरकारसँग पहल गर्ने निर्णयसमेत गरेका छन्।

सीताराम अधिकारी