अधिकारकर्मी तथा सञ्चारकर्मीबीच साझेदारी बैठक सम्पन्न
मकवानपुर । २०७७ पुस १६ गते
इन्सेक बागमती प्रदेश कार्यालयको आयोजनामा हेटौँडामा पुस १६ गते मानव अधिकारका सवालमा अधिकारकर्मी तथा सञ्चारकर्मीबीच साझेदारी बैठक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले मानव अधिकारको हक स्थापित गर्ने सवालमा अधिकारकर्मी र सञ्चारकर्मी एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले समाजको हक अधिकारका लागि अधिकारकर्मी र पत्रकारहरू अग्रपङ्तिमा खटिने भएकोले पनि दुवै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । बैठकमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुर, संयोजक आरती पाठकले सचेतनाको सवालको पाटो सशक्त बनाउन पर्ने बताउनु भयो ।
शिक्षाको लागि साझा अभियानका बागमती प्रदेश संयोजक तथा बाल कल्याण समिति मकवानपुरका संयोजक प्रकाश खतिवडाले शिक्षामा समान र गुणस्तरीय अधिकारको सवाल उठाउनु पर्ने बताउनुभयो । यसैगरी सन्चारकर्मी बालकृष्ण अधिकारीले पछिल्लो राजनीतिक घटना क्रमका कारण मानव अधिकार अतिक्रमित भएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले नागरिकमा सूचनाको पहुँच अझै कमजोर भएको बताउनुभयो । प्रविधिको कारण मानवीय गोपनीयताको सवाल कमजोर बन्दै आएको उहाँले बताउनुभयो ।
यसैगरी कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्चका बासु खतिवडाले उपभोक्ताको अधिकार सशक्त हुन नसकेको बताउनुभयो ।सञ्चारकर्मीहरूले राजनीति इस्युलाई मात्रै ध्यान नदिएर अधिकारको सवाल बिर्सन नहुने इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बताउनुभयो । अधिकारकर्मीलाई समस्या हुँदा र सञ्चारकर्मीलाई समस्या हुँदा एकआपसमा सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो ।
पुष्पराज अधिकारी