अन्तर्राष्ट्रिय बेपत्ता पार्ने कार्यविरुद्ध दिवसका अवसरमा कार्यक्रम सम्पन्न
कास्की । २०८१ भदौ १४ गते
अन्तर्राष्ट्रिय बेपत्ता पार्ने कार्य विरुद्ध दिवस २०८१ कार्यक्रम र सङ्क्रमणकालीन न्याय सम्बन्धमा अन्तर्राष्ट्रिय दिवस ०८१ भदौ १४ गते पोखरामा सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेश, रेडक्रस लगायतका ११ ओटा संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी बारे चर्चा गरिएको थियो । कार्यक्रमका सभाध्यक्ष तथा एड्भोकेसी फोरमका अध्यक्ष हरिप्रसाद सुवेदीले द्वन्द्वका क्रममा भएको व्यापक प्रकृति घटनाहरू र अन्य अवस्थामा पनि गिरफ्तार गर्ने, थुन्ने, बन्धकराख्ने, थुन्दाको बापतमा अपनाउनु पर्ने सतर्कता, बेपत्ता भएको कतिपय मान्छेका बारेमा राज्यले छिटो सम्बोधन गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलहरुको समेत सहभागी थियो । कार्यक्रममा गैसस महासंघ कास्कीका अध्यक्ष डाक्टर वुद्धिबहादुर थापा, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीकी अध्यक्ष विना शिलवालले बेपत्ता पारिएका व्यक्तिहरूलाई संरक्षण गर्नु र न्याय दिलाइदिनु राज्यको सम्पूर्ण निकायको उत्तरदायित्व भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा द्वन्द्व पीडित साझा चौतारी बागलुङकी विमला केसीले टिआरसी विधेयक पास भइसकेकाले राजनीतिक दलहरूमा इच्छाशक्ति भयो भने बेपत्ता पारिएका नागरिकहरूका सम्बन्धमा राजनीतिक स्तरबाट न्यायको अनुभूति पाउनुपर्ने बताउनु भयो । कार्यक्रममा अधिवक्ता कुञ्जनी परियार प्यासीले स्वागत र कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन इन्सेक कार्यक्रम अधिकृत शवनम शर्माले गर्नुभएको थियो ।
सञ्जय रानाभाट