अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध

कास्की । २०७९ असार १९ गते

अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय तह बालमैत्री हुनुपर्ने र त्यसका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले बालबालिकाहरु राज्यबाट प्राप्त अधिकारका बारेमा जानकार हुनुपर्ने बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दा राज्यले उनीहरुप्रति ध्यान दिनुपर्ने बताउनु भयो । गाउँपालिकालाई बालमैत्री बनाउन आजैदेखि कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरोकारवाला सङ्घसंस्थासँग समन्वय गर्दै अगाडि बढ्ने भनाई राख्नु भयो । गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गरिएको भन्दै उहाँले आगामी वर्ष बाल सहभागितालाई जोड दिँदै बजेट अझै वृद्धि गरी बालमैत्री गाउँपालिका बनाउन लाग्ने बताउनु भयो ।

प्रशासकीय अधिकृत खेमराज देवकोटाले गाउँपालिकालाई बालमैत्री बनाउन घर, परिवारदेखि समाज सबैको समान भुमिका रहने बताउनु भयो । वडा नं ७ का अध्यक्ष भरतमान गुरुङले नीति कार्यक्रम र बजेटबारे वडा तहमा जनतासँग संवाद गर्दा बालबालिकाका कुनैपनि विषय प्राथमिकतामा नपर्ने गरेको भन्दै बालबालिकाको अधिकारका सवालमा घरघरमा बुझाउन आवश्यक रहेको बताउनु भयो । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले केही स्थानीय तहहरुले बालमैत्री प्रवर्धन अभियानको थालनी गरिसकेको बताउनु भयो । उहाँले समग्र मुलुक नै बालमैत्री हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला बाल सञ्जाल कास्कीका अध्यक्ष समिक्षा लामिछाने बाल सहभागिता र विकासका लागि वडा तहसम्मै बाल क्लव गठन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले नीतिगत रुपमा बालबालिकाका सवाल समेटिनका लागि गाउँपालिकाका हरेक कार्यक्रम र छलफलमा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने भनाई राख्नु भयो । कार्यक्रममा सहभागी आयुस्मा भुगाँईले गाउँपालिकाको योजना तथा नीति बनाउने क्रममा बालबालिकाको सहभागिता शून्य रहेको भन्दै आगामी दिनमा त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो । कार्यक्रममा अधिवक्ता कुञ्जनी परियारले ‘बालमैत्री स्थानीय शासन र सरोकारवालाहरुको भूमिका विषयक’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सुशन घिमिरे