अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

जाजरकोट । २०७९ जेठ २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जाजरकोट जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अर्ध बार्षिक पूर्व समीक्षा कार्यक्रम सदरमुकाम खलंगामा जेठ २३ गते सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय, जाजरकोटका जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेलले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल वार एशोसिएसन जाजरकोटका अध्यक्ष प्रकाश कुमार शाहीले इन्सेकले मानव अधिकारका क्षेत्रमा गरेका कार्य निकै सह्रानीय रहेको र वर्ष पुस्तकलाई अझै उत्कृष्ट बनाउनका लागि सबै सरोकारवालाले बर्ष पुस्तकका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराई सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष निरौलाले वर्ष पुस्तकका लागि जिल्लागत विवरणमा विगतको तुलनामा घटना कम समेटिएको र पुस्तक विस्तारै पातलो हुँदै गएकोमा नेपालमा मानव अधिकारका घटनामा कमी आएको हो वा घटना भएर पनि नसमेटिने गरेको बारेमा जिज्ञासा राख्नु भयो । जिल्ला प्रहरी कार्यालयले मानव अधिकार उल्लङ्घनलाई न्यूनीकरण गर्न समन्वय सहकार्य गर्न तयार रहेको डिएसपी निरौलाले प्रतिवद्धता जनाउनु भयो । इन्सेक जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठले २०२२ जनवरीदेखि जुनसम्म जिल्लामा भएका बलात्कार र बलात्कार प्रयासका तीन वटा, बाल अधिकारका एक वटा, हत्याका एक वटा, कुटपिट तथा घरेलु हिंसाका सात वटा, कुटपिटका एक वटा, जातीय विभेद तथा कुटपिटका एक वटा र अभद्र व्यवहारका ३ वटा गरी १७ वटा घटनाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा सरकारी कार्यालय, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र अधिकारकर्मीको उपस्थिति रहेको थियो ।

दिनेश कुमार श्रेष्ठ