अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

सल्यान । २०७९ जेठ १७ गते

नेपाल मानव अधकिार वर्षपुस्तक २०२३ का लागि सङ्कलन गरिएका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम जेठ १७ गते खलंगामा सम्पन्न भएको छ । जिल्लामा २०२२ जनवरीदेखि पाँच महिनासम्मको समयमा ४१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरिएको इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका उहाँले सहभागीहरू माझ घटना प्रस्तुतगर्दै जिल्लामा सबै भन्दा बढी महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्तरगत घरेलु हिंसा तथा कुटपिट, घरनिकालाका १५ ओटा घटना भएको बताउनुभयो । यस्तै बलात्कार, बलात्कार प्रयासका ११, बहुविवाहका सात, यौन दुव्र्यवहारका चार, परिवारजन्यबाट हत्या एक, कुटपिटका दुई, उपचार अभावको एक वटा घटना सङ्कलन गरेको बताउनु भयो । सो अवसरमा इन्सेक प्रतनिधि बुढाथोकीले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरण गर्न, स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसँगको समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले समाजमा हुने यस्ता घटनालाई स्थानीय तहले केलाएर लैजाने बताउनु भयो ।

मानव अधिकारको प्रत्याभूति दिलाउन अधिकारकर्मीहरूसँगको सहकार्य बढाएर लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय भ्रष्टाचारका घटना बढदै गएकाले यस्ता घटना पनि जघन्य अपराधका घटना भित्र पर्ने भएकाले न्यूनीकरण गर्नको लागि आफू तत्पर भएर लाग्ने बताउनु भयो । यस्तै विशिष्ट अतिथि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले समाजमा विभिन्न अपराधका घटनाले प्रश्रय पाइरहेकाले यस्ता घटना हुन नदिन सबै पक्ष लाग्नुुपर्ने बताउनु भयो । मानव अधिकारकर्मीहरूले तथ्याङ्क सङ्कलन गर्ने मात्र नभएर घटनाको खोजमुलक गरेर बिस्तृत अध्ययन गर्नेतर्फ लाग्नु पर्ने बताउनु भयो । मानव अधिकार उल्लङ्घनको घटना सम्बन्धी तथ्याङ्कलाई सबै क्षेत्रले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो । यस्तै जिल्ला न्यायाधीवत्ता जयप्रकाश धितालले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लङ्घनका घटनाहरू अभिलेखीकरण गर्ने कार्य सह्रानीय रहेको बताउनु भयो । हिंसा र बलात्कारका घटना बढ्न नदिन सामाजिक रुपमा सचेतनाको खाँचो रहेको उहाँको भनाई थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घसस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन इन्सेकका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।   

मिना बुढाथोकी