अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
हुम्ला । २०८१ असार १० गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०८० पुस १७ गतेदेखि ०८१ असार १० गतेसम्म ६ महिनाको अवधिमा सङ्कलन गरिएका १० ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित दुई ओटा, मानव बेचविखन तथा ओसारपसारको एक, महिला अधिकार सम्बन्धि बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका चार ओटा, बहु विवाहको एक र आर्थिक तथा सामाजिक अधिकारका दुई ओटा घटना प्रस्तुत गरिएको थियो ।
इन्सेकले सङ्कलन गरेर अभिलेख गरेका घटनाहरू प्रति सकारात्मक धारणा राख्दै प्रमुख जिल्ला अधिकारी विनाेद कुमार पाेखरेले भौगोलिक विकट्ताका बाबजुद पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि तथ्यमा आधारित भएर घटना सङ्कलन गर्नुमा सराहनीय कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले पहिले भन्दा पछिल्लो समय देशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको न्युनीकरण भएको र अझै न्युनीकरणमा मानव अधिकारकर्मीको उल्लेखनीय भूमिका रहने बताउनुभयो । राज्यले आफ्नो कर्तव्य र दायित्व पुरा गरे नगरेको विषयमा पनि इन्सकेको प्रतिवेदनमा समेट्न उहाँले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माले कुनै पनि व्यक्तिले काम गर्दा अर्कालाई समस्या नपार्ने अधिकारका विषयमा झल्काउदै जिल्ला भरि उठेका समस्यालाई उठान गर्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले शिक्षा, स्वास्थ्य, खाद्यान्न र विकास निर्माणलाई पनि प्रतिवेदनमा समेटनु पर्ने बताउनुभयो । विकासका हिसाबले देशको ७७ औँ जिल्लामा यस जिल्ला पर्छ त्यसलाई पनि इन्सेकले समेटनु पर्ने बताउँदै भौगालिक समस्याका बाबजुद पनि प्रतिवेदन तयार गरि प्रस्तुतले उल्लेखनीय कार्य भएको बताउनुभयो ।
त्यस्तै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले जिल्ला भरिको मानव अधिकार सँग सम्बन्धित र न्यायिक निरुपणका विषयमा पनि समेटेको कुरालाई प्रसंशा गर्दै इन्सेकले सात ओटा गाउँपालिकाका न्यायिक समितिका संयोजकहरूसँग समन्वय गर्दा छुटेका घटनाहरू समावेश हुने र प्रतिवेदन थप प्रभावकारी हुने सुझाव दिनुभयो ।
त्यस्तै सम्पुर्ण राजनीति दलको तर्फबाट बोल्दै एकिकृत समाजवादीका जिल्ला अध्यक्ष जोसी धामीले कानुन जति नै कडा हुँदै गयो, त्यति नै मानव अधिकार उल्लङ्घनका घटनाहरू पनि बढ्दै गएको बताउनुभयो । जसलाई न्युनीकरण गर्नका लागि इन्सेकले जिल्लाका सात ओटै गाउँपालिकामा पुगेर यसको समीक्षा, अन्तरक्रिया लगायतका जनचेतना फैलाउने कार्यक्रम गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
जिल्लामा हुने र भएका मानव अधिकार उल्लङ्घन, ज्यादती र अपराधका घटनालाई न्युनीकरणमा इन्सकेको ठूलो भूमिका रहेको प्रशंसा गर्दै आगामी दिनमा थप पहलकदमी चाल्न नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले अनुरोध गर्नुभयो ।
मानव अधिकार हनन राज्य पक्षबाटै हुने भएकाले सम्बन्धित सरोकारवाला निकाय सम्वेदनशील हुनु पर्ने कार्यक्रमका जिल्ला बार यसोसियनका सचिव राजन चन्दले बताउनुभयो । उहाँले जिल्लामा हुने बालश्रम, खानेपानी, स्वास्थ्य सँग जोडिएका प्रत्येक घटनालाई पनि जोड दिनु पर्ने इन्सेकलाई सुझाव दिनुभयो ।
नन्द सिंह
HUMAN RIGHTS NEWS PORTAL






