अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

चितवन । २०८० असार १४ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते भरतपुरमा सम्पन्न गरेको छ । सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ५० ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उक्त अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले पछिल्लो ६ महिनामा बलात्कार पीडित ६ महिला र १४ बालिका रहेको तथ्याङ्क दिनुभयो । त्यस्तै महिला पीडित भएका घटनाहरूमा बलात्कार प्रयासका दुई जना, बहुविवाहका चार जना, आत्महत्या दुरुत्साहनका चार जना, एक हत्या रहेको छ । बालिका पीडित भएको घटनामा बलात्कारका १४, यौन दुर्व्यवहारका १२ र मानव बेचबिखनका तीन ओटा घटना रहेका छन् । यस अवधिमा दुई जना पुरुषको हत्या भएको छ ।

  

समीक्षा कार्यक्रमको प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायधीवत्ता योगनाथ ढकाल रहनुभएको थियो । विद्यालयका बालबालिका, अनाथ बालबालिका बढी हिंसा प्रभावित हुने गरेको ढकालले बताउनु भयो । यस्ता घटना न्युनीकरण गर्नको लागि घर परिवार र समाजमा सबै जना सचेतना हुन आवश्यक रहेको प्रमुख न्यायधीवत्ता ढकालले उल्लेख गर्नुभयो । उहाँले सरकारी तथा गैरसरकारी सबै निकाय मिलेर यस्ता खालका घटना न्युनीकरणको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

दिपेन्द्र अधिकारी