








नुवाकोट । २०७९ असार ६ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०७९ असार ६ गते विदुरमा सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा भएको कार्यक्रममा जिल्लामा समग्र मानव अधिकारको विषयमा छलफल भएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२२ को पहिलो ६ महिनामा जिल्लामा भएका मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाहरूको विषयमा जानकारी दिनु भएको थियो । जसमा बहुविवाहका दुई ओटा, हत्याका तीन ओटा, बलात्कारका सात ओटा र बलात्कार प्रयासका तीन ओटा घटनाको अभिलेखीकरण गरिएको छ । पूर्वसमीक्षा कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुषालले आफ्नो कार्यालयले पीडितको पक्षका काम गरिरहेको र आरोपितको पनि अधिकारलाई ध्यानमा राखिएको बताउनुभयो । आरोपितको मानव अधिकारको सम्मान गर्दै यातना नदिइकन वस्तुनिष्ठ प्रमाणको आधारमा मुद्दा चलाइरहेको न्यायाधिवक्ता भुषालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामप्रकाश शाहले जिल्लामा पछिल्लो वर्षहरूमा मानव बेचविखनका मुद्दा दर्ता नभएकोले जिल्लामै मानव बेचबिखनका घटना नभएको नभई बेचबिखनको स्वरुप परिवर्तन भएको बताउनु भयो । एसपी शाहले यसको खोजीमा सरकारी तथा गैरसरकारी निकायहरूको ध्यान जानु पर्ने बताउनुभयो । उहाँले स्थानीय तहहरूले न्यायिक समितिहरूलाई प्रभावकारी बनाउन ध्यान दिनु पर्ने र साना विवादहरूको लागि सदरमुकामसम्म आउन नपर्ने बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनालले इन्सेकले राख्ने अभिलेखको क्षेत्र विस्तार हुनु पर्नेमा बताउनुभयो । कार्यक्रममा बालबालिकाहरूको पाठ्यपुस्तक अभाव, रासायनिकमल अभाव, शुद्ध पिउने पानीको अभाव, उपभोक्ता अधिकार, खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा