अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
मोरङ । २०७९ असार ७ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि इन्सेक प्रदेश कार्यालयको आयोजनामा असार ७ गते सरोकारवालाबिच समीक्षा सम्पन्न्न गरिएको छ । सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म प्रथम ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो । समीक्षामा इन्सेक मोरङ प्रतिनिधिले ६ महिनाको अवधिमा इन्सेकले १ सय ९० घटनाको अभिलेख बताउनु भयो । जसमा २ सय २४ जना पीडित भएका छन् । मोरङमा घरेलु हिंसाका सबै भन्दा बढी घटना भएका छन् । मोरङमा ६ महिनाको अवधिमा ८५ जना महिला घरेलु हिंसाबाट पीडित भएका छन् । २१ जनाको हत्या, १७ जनामाथि कुटपिटका घटना भएका छन् । राज्य पक्षबाट ४ जना गिरफ्तारीमा परेका छन् । एक जना यातनाबाट पीडित भएका छन् । १८ जना बालिका र १४ जना महिला बलात्कार घटनामा पीडित भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ । यौन दुव्र्यवहारका घटनामा २४ जना, बलात्कार प्रयास घटनामा नौ जना, अमानवीय व्यवहार घटनामा दुई जना पीडित भएको इन्सेक मोरङको प्रतिवेदनमा उल्लेख छ । ६ महिनाको अवधिमा मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्यादेखि ९२ वर्षीया महिलासम्म बलात्कारमा पीडित भएको इन्सेकले जनाएको छ । कार्यक्रममा सहभागीहरूले इन्सेकलाई मानव अधिकार उल्लङ्घनका घटना स्थानीय तहसम्म पुगेर अभिलेखीकरण गर्न सुझाव दिएका छन् ।
समीक्षामा राष्ट्रिय मानव अधिकार आयोग विराटनगर कार्यालय प्रमुख नितु गड्तौलाले संविधानले प्रदान गरेका अधिकारबाट नागरिक वञ्चित भएको बताउनु भयो । उहाँले यौनजन्य घटनामा हद म्याद भएका कारण धेरै महिला र बालिका पीडित भएर पनि न्यायबाट वञ्चित हुनु परेको बताउनु भयो । पत्रकार सुशीला पाठकले मोरङ कारागारमा कैदीबन्दी आधारभूत अधिकारबाट वञ्चित भएको बताउनु भयो । उहाँले कारागारमा रहेका महिला तथा पुरूष कैदीबन्दी हालका दिनमा छालाजन्य रोगबाट पीडित भएपनि उनीहरूको उपचारमा राज्यले चासो नदिएको बताउनु भयो । उहाँले मोरङ कारागारमा कैदीबन्दी उडुसबाट पीडित भएको बताउनु भयो । पत्रकार पाठकले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पहिले पछिल्ला दिनमा हिरासतमा रहेका व्यक्तिमाथि मानव अधिकारमैत्री व्यहार नभएको सूचना पाएको बताउनु भयो । ंवरिष्ठ पत्रकार यज्ञ शर्माले अबका दिनमा राज्यले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सवाललाई सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो । माइती नेपाल मोरङ संयोजक विनोद नेपाल मोरङमा अझै पनि बालिका वेचविखनको अवस्था भयावह रहेको बताउनु भयो । कार्यक्रममा अधिकारकर्मी, वुद्धिजीवी, पत्रकार र सामाजिक अभियान्ताको सहभागिता रहेको थियो ।
विनोद सुवेदी