आमाबुवा गुमाएका एक बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग
दार्चुला । २०७९ असार २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आमाबुबा गुमाएकी शैल्यशिखर नगरपालिका–१, बारिलकी गौमती खडायलाई असार २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । जिल्ला मानव अधिकार रक्षक सञ्जालको समन्वयमा इन्सेकले उपलब्ध गराएको १० हजार रुपियाँ आर्थिक सहयोग इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले पीडित बालिकालाई हस्तान्तरण गर्नु भएको हो । गत जेठ २५ गते आमा अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या भएपछि गौमति बेसहारा बन्नु भएको छ । पीडित बालिकाका बुबा केशव खडायतको सात वर्ष अघि मृत्यु भएको हो । आमाबुवा नभएपछि घरमा दाई परमानन्द खडायत र बहिनी सरस्वती खडायत गरी तीन जना मात्रै छन् ।
दाईले भारतमा मजदुरी गरेर ल्याएको पैसाले अहिलेसम्म घर चलाएको भएपनि आमाको हत्यापछि दाई भारत जान नसकेपछि आर्थिक समस्या भई पठनपाठनमा समस्या परेकोले आर्थिक सहयोग गरि दिन पीडित गौमतिले इन्सेकलाई निवेदन दिनु भएको थियो । गौमति कृष्ण मावि बलाँचमा कक्षा १० मा अध्ययनरत हुनु हुन्छ भने बहिनी सरस्वती लटिनाथ आधारभूत विद्यालय बारिलमा कक्षा ८ मा अध्ययनरत छिन् । दुई बहिनीको पठनपाठनमा समस्या भएपछि सहयोगका लागि पीडितले गत असार ५ गते इन्सेकलाई सहयोगको लागि निवेदन दिएका थिए ।
नरेन्द्रसिह कार्की