आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धि तालिम सम्पन्न
कालीकोट । २०७८ भदौ २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा मानव अधिकार समूहका सदस्य र सरोकारवालाहरूको दुइ दिने क्षमता अभिवृद्धि तालिम भदौ २७ गते मान्ममा सम्पन्न भएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार अभिवृद्धि परियोजना अन्तरगत आयोजित तालिमको समापन सत्रमा खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालहरूको समस्या समाधान गर्न सरोकारवालाहरूको समन्वयको आवश्यकता रहेको बताउनु भयो ।
इन्सेकले मानव अधिकारका सवालमा विगतमा खेलेको भूमिकाका बारेमा जोड दिँदै उपप्रमुख विष्टले आउँदा दिनमा पनि नागरिकको जन जिवनमा आउने समस्या समाधानका लागि सरोकारवालाहरूको ध्यान केन्द्रित गराउन आवश्यक रहेको औंल्याउनु भयो । कार्यक्रमा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका अधिकृत धनराज शाहीले आथिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्रवद्र्धनका लागि इन्सेकद्वारा गठित मानव अधिकार समूहको महत्वपूर्ण भूमिका रहने धारणा राख्नु भयो ।
तालिममा न्यायिक समितिको काम कर्तव्य र अधिकारका बारेमा खाँडाचक्र नपाका उपप्रमुख विजया विष्ट, इन्सेकको परिचय, अधिकार र मानव अधिकारबीच फरकको बारेमा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले सहजीकरण गर्नुभएको थियो । यसैगरी खाँडाचक्र नपाको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अवस्था र समस्या समाधानमा स्थानीय तहको भूमिकाको बारेमा खाँडाचक्र नपाका कृषि शाखा प्रमुख पर्शुराम काफ्ले, शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा कानुनी प्रावधान र सुशासन, पारदर्शिता र जवाफदेहिताको सुचकको बारेमा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका अधिकृत धनराज शाहीले र मानव अधिकार समूहको भूमिकाका बारेमा कार्यक्रम फोकल पर्सन दुर्गा थापाले सहजीकरण गरेका गर्नुभएको थियो ।
संयोजक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार समूहका संयोजक अविसरा अधिकारी र खाँडाचक्र नपा न्यायिक समितिका सदस्य धनीप्रसाद भट्टराई लगायतले भनाइ राख्नु भएको थियो ।
कालीबहादुर मल्ल