आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

मकवानपुर । २०७७ चैत १९ गते

अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह हेटौँडाको संयोजनमा चैत १९ गते आवसको अधिकारको विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भूमिसम्बन्धी समस्या समाधान आयोग मकवानपूरका जिल्ला अध्यक्ष रामेश्वर रानाले जिल्लामा सुकुम्बासी समस्या जटिल रूपमा रहेको र बिभिन्न समयमा यसको समाधानका लागि बिभिन्न आयोगको गठन भए तापनि भूमिहीनको समस्या समाधान गर्न यो आयोग नै अन्तिम अयोग हुने बताउनु भयो । उहाँले आवासको अधिकारका लागि पहिलो प्राथमिकता भूमिको स्वामित्व ग्रहण गर्नु रहेको उल्लेख गर्नु भयो । अध्यक्ष रानाले सबैको सामूहिक प्रयत्नबाट वास्तिविक भूमिहीनलाई जग्गा उपलव्ध गराउन सम्भव हुने बताउनु भयो । उहाँले तथ्य प्रमाणलाई आधार मानिने र यस प्रक्रियामा कुनै पनि आधारमा भेदभाव, पक्षपात र नातावाद कृपावाद लागु नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दलित समुदाय बढी समस्यामा परेको र उनीहरूलाई यसबारे ज्ञान पनि नभएकोले यस समूहको बढीभन्दाबढी सहभागिता जुटाउने कुरामा समुदायका सबैले सूचना प्रवाह गर्न आग्रह गर्नुभयो । अध्यक्ष रानाले जिल्लाका मनहरी र बागमती गाउँपालिका तथा हेटौडा उपमहानगरपालिकाका केही वडाहरूमा लगत सङ्कलनको काम समेत भइसकेको जानकारी गराउनु भयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेशका प्रदेश संयोजक कृष्ण गौतमले कार्यक्रमको औचित्य प्रष्ट पार्दै आधारभूत मानव अधिकार विश्वव्यापि भए तापनि नेपालमा विभिन्न काल खण्डमा भएका राजनीतिक परिवर्तनसँगै जनताको नागरिक तथा राजनीतिक अधिकार स्थापित भएको बताउनु भयो । उहाँले अब अधिकारका विषयबस्तु पनि परिवर्तित हुँदै गइरहेकोले आर्थिक सामाजिक, साँस्कृतिक अधिकार र नेपालको संविधानले मौलिक अधिकारको रूपमा सुनिस्चितता गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा प्रदायकहरूलाई सेवाग्राही प्रति जिम्मेवार बनाउन इन्सेकले मध्यस्थकर्ताको भूमिकामा अगाडि बढिरहेको बताउनु भयो । हेटौँडा उपमहानगरापलिका वडा नं. ११ की वडा सदस्य जुना दाहालले २०५२ साल ताका जम्मा ५४ घरधुरी लालपूँर्जा बिहिन भएकोमा आज १ हजार ६ भन्दा बढी भूमीहीन परिवार रहेको बताउनु भयो । विगत ४० वर्षभन्दा बढी समयदेखि बसोवास गर्दै आएको र हालसम्म पनि लालपूर्जा प्राप्त नगरेको भूमिहीन नागरिकहरूलाई बैँक तथा बित्तियसंस्थाबाट कर्जा समेत प्राप्त नहुने भएकोले यसको प्रत्यक्ष असर उनीहरूको आम्दानी र जीवनयापन परेको उहाँले बताउनु भयो । जसका कारण सुरक्षित तथा स्थायी घर बनाउन पाउने अधिकारबाट वञ्चित हुँदा छाप्रो र टहरामा बस्न ती परिवार बाध्य भएका छन् ।

हेटौँडा उपमहानगरपालिको सबैभन्दा धेरै सुकुम्बासी भूमिहीन परिवार रहेको वडा नं. ११ मा भएको अन्तरक्रिया कार्यक्रमले बास्तिबिक भूमिहीनहरू सहभागी भएका र आफ्नो समस्या राख्ने मञ्च प्राप्त गरेको सहभागीले बताएका छन् । सहभागीहरूले लगत सङकलनको काम सुरु भइसकेको हुदाँ अब छिटै समस्याको समाधान हुने कुरामा आशावादी रहेको समेत बताएका छन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकास्तरिय मानव अधिकार समूहकी संयोजक चन्द्रवती पनेरुले बास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न गठित आयोगले आफ्नो काम इमान्दारीताका साथ गर्नेछ भन्ने कुरामा आफू बिश्वस्त रहेको बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारबारे उठेका सवालहरूलाई अझ बुलन्द बनाउन मानव अधिकार समूह लागि पर्ने पनि बताउनु भयो । कार्यक्रममा आनन्द भैरव विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले सुरक्षित आवासको अधिकारबाट बालबालिका वञ्चित हुँदा उनीहरूको पढाईमा समेत असर पर्ने गरेको बताउनु भयो । कार्यक्रममा टोल विकास समितिका प्रतिनिधि ठाकुरप्रसाद पौडेल, सामुदायिक वनका अध्यक्ष शालिकग्राम पुडासैनी लगायतकाको सहभागिता रहेको थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा