आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७८ वैशाख १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को आयोजना तथा मानवअधिकार समूह बन्दिपुरको संयोजनमा वैशाख १६ गते बन्दिपुर गाउँपालिका–४ मा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम वैशाख १६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति तनहुँकी सदस्य शान्ति कुँवरले वर्तमान आयोगले भूमिसम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो । भूमि र आवाससम्बन्धी अधिकार संविधानको मौलिक हकमा समेत समावेश भएको भन्दै उहाँले अब आयन्दा कसैले पनि भूमिहिन भएर बस्नु नपर्ने कुँवरले बताउनुभयो । वास्तविक भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने भन्दै उनले कसैले ढाँटेर र छलेर जग्गा प्राप्ति गर्न खोज्छ भने त्यसलाई कानुनी कारबाही गरिने उहाँले प्रष्ट पार्नुभयो ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विगतमा पनि धेरै आयोगहरू बनेको तर भूमिसम्बन्धी समस्या यथावत रहेको भन्दै अब भविष्यमा यस्ता समस्याहरू नदोहोरिने गरी काम गर्नुपर्ने बताउनुभयो । बन्दिपुरमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थितहरूको समस्या रहेको हुँदा सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूले यो समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा वडा सदस्य लक्ष्मी दवाडी, चौकी टोल विकास संस्थाका सचिव सन्तोष थापा, मानवअधिकार समूहकी सदस्य सविना मल्ल, तमु समाजका सचिव मिमबहादुर गुरूङ लगायतले आवासको अधिकार सम्बोधन गर्न स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो ।
बन्दिपुरमा फुसको छानो हटाउने कार्यक्रम अन्तरगत १ सय ९९ जनासँग सम्झौता भएको र अब सो कार्यक्रम कार्यान्वयन हुने वडा सदस्य दवाडीले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित सहभागीहरूले अहिले भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत भइरहेको लगत सङ्कलन कार्य र त्यससम्बन्धी विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो भने इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई