आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ असोज ५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ५ गते चौमालामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाका ईन्जिनियर दिनेश खडकाले गौरीगंगा नगरपालिकाद्वारा सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ४१ घर निर्माण भइसकेको र चालु आर्थिक वर्षमा एउटा वडाबाट चार जना गरी ११ ओटा वडाबाट ४४ जनाको घर निर्माणका लागि वडाको सिफारिस अनुसार बजेट बिनियोनज भएको बताउनु भयो ।
गौरीगंगा नगरपालिका–१ का वडाध्यक्ष जगतराम चौधरीले नगरपालिका भित्र सुकुम्बासी, मुक्त कमैया, मुक्त हलियाहरु जङ्गलको छेउ, नदी किनार र डुवान हुने क्षेत्रमा बसोबास गर्दै आएकाले समस्या झेल्नु परेकोले यसको समाधानका लागि कार्यापालिकाको बैठकमा छलफल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । गौरीगंगा नगरपालिका—४ लठैया मुक्त कमैया सिविरकी रमितु चौधरीले आफूहरु असुरक्षित ठाउँमा नदीको किनार र डुवान क्षेत्रमा बस्दै आएको भएपनि स्थानीय सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्नु भयो ।
गौरीगंगा नगरपालिका—५ की कमला बोहराले आर्थिक अभावका कारण मजदुरी गरेर दैनिकी चलाउनु पर्ने भएकाले सानो घरमा ११ जनाको परिवार कोचिएर बस्नु पर्ने बाध्यता भएकोले नगरपालिकाबाट सुरक्षित आवासका लागि पहल गर्न आग्रह गर्नु भयो । गौरीगंगा नगरपालिका—११ की सुमित्रा विकले जङ्गलको किनारमा ऐलानी जग्गामा बसेकाले आफूसँग जग्गाको लालपुर्जा नभएको हुँदा जनता आवास कार्यक्रमबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो ।
मैनामोती चौधरी