आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ मङ्सिर २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजनामा कावासोती नगरपलिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २९ गते सम्पन्न गरिएको छ ।कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्थानीय गरिब, विपन्न तथा सिमान्तकृ त समुदायको आवासको अधिकार सुनिश्चित गर्न कावासोती नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
उहाँले नगरपालिकामा सञ्चालित विभिन्न कार्यक्रम मार्फत हाल सम्म ९७ गरिब तथा विपन्न परिवारलाई घर निर्माण गरी नगरपालिकाले हस्तान्तरण गरेको, थप १८ ओटा घर निर्माणको क्रममा रहेको, सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत नगरपालिकाभित्रका २ सय ओटा घरमा खरको छानो विस्थापित गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । तराई मधेश समृद्धि कार्यक्रम मार्फत विभिन्न कार्यहरु सञ्चाल नगर्न सक्ने अवस्था भएपनि कावासोती नगरपालिकाले विपन्न तथा सिमान्तकृत नागरिकहरुको सुरक्षित आवासको व्यवस्थापनलाई प्राथमिकतामा राखेर घर निर्माण गरेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो । उहाँले जनता आवास कार्यक्रममार्फत ११ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको र नगरपालिकाभित्रका सिमान्तकृत माझी, मुसहर र बोटे समुदायका स्थानीयहरुलाई दुई कोठाको घर निर्माण गरेर नगरपालिकाले घर हस्तान्तरण गरेको बताउनुभयो ।
आवाससँग प्रत्यक्ष जोडिएको भूमिसम्बन्धी समस्या सामाधानको लागि कावासोती नगरपालिकामा लगत सङ्कलन, नक्सा तयार लगायतको कार्य सम्पन्न भएको अवस्थामा आयोग खारेज हुँदा कामहरु रोकिएको भएपनि अब पुनः गठन भएको आयोग मार्फत पूर्ववत अवस्थाबाट कार्य अगाडि बढाउने उहाँले बताउनुभयो ।
नगरपालिकाले कावासोती नगरपालिका–१२ मा रहेको बृद्धाश्रममा भवन निर्माण सहयोग गरी परिवार विहिन बनेका व्यक्तिहरुलाई आवासको व्यवस्थापन गरेको घर्तीले बताउनुभयो । संविधानमा मौलिक हकको रुपमा रहेको आवासको अधिकार प्रत्याभूत गर्न नगरपालिका सदैव प्रतिबद्ध रहेको भन्दै उहाँले विपतको समयमा आवास बिहिन हुने अवस्थाको सृजना भएको खण्डामा त्यसको तत्कालिन व्यवस्थापनको कार्य विगत देखि गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेकले गरेका कार्यक्रमले आगामी दिनमा योजना निर्माण तथा प्राथमिकिकरण गर्न सहयोग पुगेको बताउनुभयो ।
तिर्थराज डुम्रे