आवासको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

कालीकोट । २०७८ भदौ ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्र नपाको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भदौ ३० गते मान्ममा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत आयोजित अन्तरक्रियामा खाँडाचक्र नपा प्रमुख जसिप्रसाद पाण्डेले नगरपालिका भित्रका एक सय घर खरमुक्त भइसकेको र आफ्नै कार्यकालमा तीन सय घर खर मुक्त बनाउने योजना रहेको बताउनु भयो । साथै उहाँले पहिरोका कारण नगरपालिकामा धेरै घरहरू जोखिममा रहेकाले समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा खाँडाचक्र नपा–१ का कौसीला वादीले सरकाले जनता आवास कार्यक्रम अन्तर्गत कम सङ्ख्यामा घर वनाएकाले एउटै घरमा पाँच परिवार वस्न बाध्य भएको गुनासो गर्नु भयो । साथै उहाँले बादी समुदायका बालबालिकाहरू विद्यालय पोसाक नभएकाले विद्यालय जानबाट बञ्चित भएको समेत बताउनु भयो ।

मानव अधिकार समूह खाँडाचक्रका सचिव कपुरे विश्वकर्माले कृषि तथा पशु पंक्षी व्यवसाय गर्न चाहाने कृषकहरूले जग्गा नपाएको प्रति नगरपालिकाको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा खाँडाचक्र नपाका कृषि, पशु सेवा, स्वास्थ्य, शिक्षा शाखाका प्रमुख, भूमि समस्या समाधान आयोगका सदस्य, पत्रकार र मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको थियो ।

कालीबहादुर मल्ल