इन्सेकको पहलमा बालबालिकालाई विद्यालय पोशाक वितरण

ललितपुर । २०७८ चैत १० गते

ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीलाई इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा ०७८ चैत ९ गते विद्यालय पोशाक प्रदान गरिएको छ । इन्सेक प्रतिनिधिको पहलमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरले विद्यालय पोशाक निःशुल्क उपलब्ध गराएको हो । सङ्घले सदस्य व्यवसायीहरुसँग कपडा सङ्कलन गरी सामुदायिक विद्यालयका विद्यार्थीका लागि सर्ट र पाइन्ट सिलाएर प्रत्येक विद्यार्थीलाई एक/एक सेट कपडा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक विद्या खड्काले जानकारी दिनु भयो ।

 

ललितपुर महानगरपालिकाका सामाजिक विकास समिति संयोजक दिनेश कार्कीका अनुसार सामुदायिक विद्यालयमा पढ्ने मध्ये बालोदय आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरू श्रमिकका छोराछोरी भएकोले उनीहरुलाई सबैको सहयोग आवश्यक छ । अध्यक्ष कार्कीले मानव अधिकारको क्षेत्रमा विशेष योगदान गर्दै आएको इन्सेकको पहलमा सामुदायिक विद्यालयका बालबालिकाहरूलाई पोशाक प्राप्त भएकोमा खुशी व्यक्त गर्दै विद्यालय जान चाहिने किताब, कापी, कलम, जुत्ता चप्पल, झोला, पोशाकजस्ता आधारभूत सामाग्री समेत जुटाउन नसकेका बालबालिका प्रति विशेष ध्यान दिनु पर्ने खाँचो औँल्याउनु भयो । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरका अध्यक्ष पूर्ण महर्जनले इन्सेक ललितपुर जिल्ला प्रतिनिधिले बालबालिकाको आवश्यकताको खोजी गरी सेवा गर्न मौका दिएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

 

निःशुल्क पोशाक वितरण कार्यक्रममा ललितपुर महानगरपालिका–२४ का सदस्य इन्द्रा श्रीस रानाले महानगर क्षेत्रमा भए पनि बालोदय आधारभूत विद्यालयमा घरेलु श्रमिक, दैनिक ज्याला गर्ने मजदूर, इट्टाभट्टामा काम गर्ने श्रमिकहरूका बालबालिका पढ्ने गरेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनु भएकी रानाले बालबालिकाहरुलाई विद्यालय पोशाकमा एकरुपता ल्याउन सहयोगी हातको खाँचो रहेको उल्लेख गर्दै बालबालिकाको विद्यालय पोशाक लाउन पाउने अधिकार सुनिश्चित गरेकोमा इन्सेक र नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कपडा वितरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरका प्रतिनिधिहरु र इन्सेक प्रतिनिधिको सहभागिता रहेको थियो । कोभिड–१९ महामारीका कारण व्यवसायमा असहजता भए पनि विद्यार्थीहरुको समस्या बारे जानकारी आएपछि पहिलो चरणमा गत पुस १८ गते ५९ सेट र चैत ९ गते ६१ सेट गरी १ सय २० सेट कपडा सहयोग गरिएको सङ्घका सहसचिव आशिष शाक्यले जाकारी दिनुभयो । सङ्घले आगामी दिनमा विद्यार्थीका लागि निरन्तर सहयोग गर्न पहल गर्ने उपाध्यक्ष मैया मानन्धरले बताउनु भयो ।

दीपकप्रसाद घिमिरे