इन्सेकको पहलमा सेफ हाउसलाई सामग्री हस्तान्तरण

सिन्धुली । २०७९ फागुन २६ गते

कमलामाई नगरपालिका-७ मा रहेको सुरक्षित आवास गृह (सेफ हाउस)लाई गैरसरकारी संस्था महासङ्घ सिन्धुलीले ०७९ फागुन २५ गते आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । गैरसरकारी संस्था महासङ्घ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सेफ हाउसका गिता देवकोटालाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्नुभयो । गैरसरकारी संस्थाहरूले सेफ हाउसमा महिलाहरूलाई सिप सिक्न आवश्यक पर्ने इन्टरलक मेसिन, दुई कार्टुन लुगाधुने साबुन, बालबालिकाका लागि आवश्यक पर्ने हर्लिक्स लगाएतका सामग्री प्रदान गरिएको गैसस सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले बाउनुभयो ।

गैरसरकारी संस्थाहरू हिंसा पीडितहरूलाई सहयोग गर्न तयार रहेको अधिकारीले बताउनुभयो । सेफ हाउसमा रहेका महिलाहरूलाई सिप सिक्नको निमित्त आवश्यक पर्ने सामाग्रीहरू सहयोग गर्न इन्सेक सिन्धुलीले आग्रह गरेको र गैरसरकारी संस्था सिन्धुलीले सहयोग गरेको अध्यक्ष अधिकारीले बताउनभयो । जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले सुरक्षित आवास गृहलाई दीर्घकालिन सञ्चालन गर्नका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गैससहरूले हिंसा पीडित महिलाहरूको सिप अभिवृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नबिनबाबु अधिकारी