इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन

चितवन । २०८० भदौ २० गते

नारी वेदनाका घटनामा आधारित रही इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन गरिएको छ । ‘मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस’ का अवसरमा भदौ २० गते चौविसकोठी, भरतपुरमा नाटक प्रदर्शन गरिएको हो । आशिष सामाजिक सेवा संस्थाको आयोजनामा र इन्सेक, माइती नेपाललगायतका संस्थाहरूको सहकार्यमा नाटक प्रस्तुत गरिएको हो । बलात्कार घटना नारीले भोग्नुपरेको र अन्य हिंसाका विषयमा नाटक प्रस्तुत गरिएको थियो । ‘नाटक निकै प्रभावकारी छ, वर्तमान नेपाली समाजको नारी वेदनामा आधारित यथार्थ चित्रण प्रस्तुत भएको छ ।’

    

प्रत्यक्ष अवलोकनपछि टिप्पणी गर्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय भरतपुरकी महिला तथा बालबालिका सेलकी इन्स्पेक्टर सरिता विकले नाटकले वास्तविक घटनाको चित्रण गरेको प्रतिक्रिया दिनुभयो । बलात्कार र अन्य हिंसाबाट पीडित महिलाहरू दैनिक रुपमा कार्यालयमा आउने गरेको भन्दै उहाँले हिंसा पीडितहरू कतिपय आफ्नै नाताभित्रका र चिनेजानेकै मानिसहरू रहने गरेको उहाँले बताउनु भयो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति चितवनको आयोजनामा भदौ २० गते भरतपुर महानगरपालिका-१०, मालपोतचोकबाट चौविसकोठीसम्म प्रभातफेरी निकालिएको थियो । सहकाय गर्ने अन्य संस्थाहरूमा इन्सेक, माइती नेपाल, आशिष सामाजिक सेवा नेपाल, सामरी उत्थान सेवा, आफन्त नेपाल, चेली नेपाल र नारायणी इङ्लिस पब्लिक स्कुल रहेको थियो ।

दिपेन्द्र अधिकारी