इन्सेकद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा छलफल
मोरङ । २०७९ फागुन २५ गते
“लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नाराका साथ ८ मार्च अर्थात् फागुन २४ गते ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । सोही सन्दर्भमा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा फागुन २५ गते छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफलमा सहभागीहरूले घरेलु हिंसा र बलात्कारका घटनामा महिला तथा बालिकाहरू धेरै पीडित भइरहेकाले यस्ता घटना न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताएका छन् । छलफलमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका निर्देशक पवनकुमार भट्टले महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनु भयो ।
गैरसरकारी संस्था महासङ्घ मोरङ अध्यक्ष विष्णु शर्माले मानवको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले मानव अधिकार संरक्षणको क्षेत्रमा काम गरिरहे पनि महिला र बालबालिकाामाथि हुने विभिन्न किसिमका घटनाबाट पीडित हुने क्रम नरोकिएको बताउनु भयो । उहाँले कानुन कार्यान्वयनमा समस्या देखिँदा पीडितले न्याय पाउने अवस्था नरहेको बताउनु भयो । अध्यक्ष शर्माले पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई घच्घच्याउन जरूरी रहेको बताउनु भयो । अध्यक्ष शर्माले महिला तथा बालबालिका पीडित भएका घटना दर्ता गर्न गाहृो हुँदा पीडितहरू न्यायिक अधिकारबाट समेत वञ्चित भइरहेको बताउनु भयो ।
माइती नेपालकी कार्यक्रम प्रमुख तथा मनोविमर्शकर्ता गीताञ्जली शर्माले घरेलु हिंसाका घटनालाई प्रहरीले वेवास्ता गर्दा पीडितले न्याय पाउन नसकेको बताउनु भयो । उहाँले घरेलु हिंसा पीडित महिलालाई न्यायका लागि सम्बन्धित निकाय सम्वेदनशील हुनुपर्ने बताउनु भयो । उहाँले साइवर क्राइमका घटना दर्ता गर्न र कानुनी कारबाहीमा समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘काठमाण्डौंबाट मात्रै साइवर क्राइमका घटना दर्ता र अनुसन्धान हुने भएकाले जिल्लामा भएका साइवर क्राइमका घटनाको उजुरी दर्ता गर्न र पीडितले न्याय पाउन समस्या भइरहेको छ।’
छलफलमा सीविन नेपाल मोरङका संयोजक वासु अधिकारीले बालिकाहरू आफन्त र छिमेकीहरूबाटै असुरक्षित भइरहेको बताउनु भयो । आफन्त र छिमेकीहरूबाटै बालिका बलात्कृत भएका घटना बढ्दो क्रममा रहेको उहाँले बताउनु भयो । तेस्रो लिङ्गीमा क्षेत्रमा कार्यरत परिवर्तनशील समाजका राजु पासवानले परिवार र समाजले तिरस्कार गर्दा तेस्रो लिङ्गीहरू समस्यामा परिरहेको गुनासो गर्नुभयो । उहाँले तेस्रो लिङ्गीलाई रोजगारीमा पहुँच नहुँदा जीवीकोपार्जनमासमेत समस्या हुने गरेको बताउनु भयो । तेस्रो लिङ्गीमाथि कुटपीट, दुर्व्यवहार र हिंसाका घटना दोहोरी रहेपनि पनि उनीहरू न्यायको पहुँचबाट टाढा रहेको पासवानले बताउनु भयो । छलफलको सहजीकरण इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले गर्नु भएको थियो ।
विनोद सुवेदी