इन्सेकद्वारा प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिसँग छलफल
मोरङ । २०७९ जेठ ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदेश १ को प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिसँग जेठ ३० गते छलफल गरेको छ । इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाको नेतृत्वमा पत्रकार र सामाजिक अभियान्तासहितको टोलीले प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले साढे ४ वर्षको अवधिमा गरेका कामहरूबारे जानकारी लिएको छ । कार्यक्रममा उद्योग,पर्यटन तथा वातावरण समितिकी सभापति सीता थेवे जगेवुले साढे ४ वर्षको अवधिमा समितिले गरेका कामहरूबारे जानकारी गराउनु भएको छ । उहाँले हालसम्म समितिमा आएका चार ओटा विधेयकलाई समितिका सदस्यहरू, सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझावसहित प्रदेश सभामा पठाएको जानकारी दिनुभयो । यस्तै समितिले प्रदेशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरी उद्योग, पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षणका विषयमा सरकारलाई सुझावसमेत दिएको बताउनु भयो । उहाँले सोचेजस्तो गरी काम गर्न नसकेपनि समितिमा आएका विधेयकहरू प्रदेशको राजधानी विराटनगर र प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम गरी सरोकारवालाहरूसँग छलफल र सुझाव लिइएको जानकारी दिनुभयो ।
समितिका सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेशले धेरै ओटा कानुन बनाए पनि कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनु भयो । उहाँले प्रदेशको कानुनलाई कसैले नटेरेको गुनासो गर्नु भयो । ‘प्रदेशले कानुन त बनाएको छ’ राजभण्डारीले भन्नुभयो ‘तर, कसैले टेरेजस्तो मलाई लाग्दैन ।’ समितिका सदस्यहरू विद्यानन्द चौधरी, विन्दीया कार्की र नारायणबहादुर मगरले सङ्घीयताका विषयमा नकारात्मक हल्लाहरू फैल्याउन थालिए पनि सङ्घीयताले खर्च मात्रै नबढाएर प्रदेशको मुहार फेर्नसमेत सहयोग पुर्याइरहेको बताउनु भयो । कार्यक्रममा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ समितिकी सभापति सीता थेवेलाई हस्तान्तरण गर्नु भएको छ । समितिकी सभापति थेवेले समितिले हालसम्म गरेका कामहरूको विवरण इन्सेक प्रदेश १ प्रमुख सोमराज थापालाई हस्तान्तरण गर्नु भएको छ ।
विनोद सुवेदी