इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
धनुषा । २०७८ असार २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्देश्यका साथ सञ्चालित कार्यक्रमहरुको वार्षिक समीक्षा बैठक असार २३ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । समीक्षा बैठकमा इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि इन्सेकले आफ्नो दायित्वलाई फराकिलो बनाउन परियोजनामार्फत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा गतिविधि अगाडि बढाइएको बताउनु भयो । स्थानीय तहलाई मानव अधिकारमैत्री बनाउने र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा स्थानीय तहहरुको बजेटलाई सर्वसाधारणको हकहितमा सदुपयोग हुनुपर्ने आवश्यक रहेको उहाँले बताउनु भयो । परियोजना लागु भएका जिल्ला र स्थानीय तहमा समुदायकोे शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा पहुँच वृद्वि गर्न र जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउन कार्यक्रम सहजकर्ताहरुको भुमिका अहम् रहने उहाँले बताउनु भयो । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा पहुँच बढाउन परियोजनाले सहयोग गर्दै आएको विश्वास समेत उहाँले व्यक्त गर्नु भयो । समीक्षा बैठकमा इन्सेक प्रदेश २ का कार्यक्रम फोकल पर्सन बरुण बस्यालले परियोजना लागु भएको स्थानीय तहहरुमा सर्वसाधारणको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा पहुँच बढ्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
परियोजनामार्फत आयोजित कार्यक्रमहरुले लक्षित वर्गको उपस्थिति अनिवार्य गराउँदा कार्यक्रमको उद्देश्य पुरा हुने र लक्षित वर्ग लाभान्वित हुने उहाँले बताउनु भयो । दुई दिनसम्म सञ्चालन भएको समीक्षा बैठकमा धनुषा, महोत्तरी, सिरहा र रौतहट गरी चार जिल्लाका सहजकर्ताले आ—आफ्नो जिल्लामा सम्पन्न भएका कार्यक्रमहरुको गतिविधि, प्राप्त उपलब्धिहरु, काम गर्दा आइपरेका समस्या, चुनौती र सिकाई, अनुभव, सफलताका कथा साथै केस स्टडीहरुको प्रस्तुतीकरण गरेका छन् । बैठकमा जिल्ला सहजकर्ताहरुले परियोजना लागु भएका स्थानीय तहहरुले परियोजनाले प्राथमिकतामा राखेका क्षेत्रहरुलाई आर्थिक वर्ष ०७८/०८९ को बजेटमा समावेश गरिनु सुखद पक्ष भएको बताएका छन् । परियोजनाले स्थानीय तहका जिम्मेवार निकायलाई मानव अधिकार निगरानी समूह र बाल अधिकार चेतना समूहमार्फत ध्यानाकर्षण गराउन र सचेत बनाउन निकै महत्वपूर्ण भुमिका खेल्दै आएको सहजकर्ताहरुले बताएका छन् । सहजकर्ताहरुले आगामी योजनामा परियोजना सञ्चालित स्थानीय तहहरुको वडास्तरमा परियोजनाको कार्यक्रम र गतिविधि केन्द्रित हुनुपर्ने बताएका छन् ।
दिपेन्द्रप्रसाद सिंह