








गुल्मी। २०८० असार १८ गते
इन्सेक गुल्मीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ कालागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा असार १७ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा भएका घटनाहरू प्रस्तुत गर्नु भयो । उक्त अवधिमा महिला हत्या दुई, बलात्कार दुई, बलात्कार प्रयासका तीन, बहुविवाहका सात कुटपिट घरेलु हिंसाका ३९ ओटा गरी ५३ जना पीडित भएको प्रतिवदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कारगार कार्यालयका प्रमुख रेश्मीराज पन्थीले २५ जनाको क्षमता भएको कारागारमा ९८ जना कैदी बन्दी हुँदा निकै समस्या रहेको बताउनु भयो । उहाँले भवन कच्ची र बाहिरको पर्खाल नभएको कारण सुरक्षा चुनौतिका बिषयमा ध्यानाकर्षण गराउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी नविनकिशोर प्रधानले आफूहरू मानव अधिकारको बिषयमा गम्भीर रहेको बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले राज्यले निशुल्क शिक्षा भनेर संविधानमा व्यवस्था गरेपनि कार्यान्वयमा समस्या रहेको बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख द्रोर्णबहादुर खत्रीले इन्सेकको प्रतिवेदनमा उल्लेख भएका कारागारका समस्या, शिक्षा र अस्पतालका समस्या समाधानमा आफूले सक्रियता देखाउने बताउनु भयो ।
टोपलाल अर्याल