इन्सेक गतिविधिहरू नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

रुकुम पश्चिम । २०८० असार १६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि २०२३ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा असार १५ गते मुसिकोट खलंगामा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्तले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लङ्घनका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गर्दा मानव अधिकारको क्षेत्रमा राज्यका निकायलाई संवेदनशील बनाएको बताउनु भयो । यसबाट जिल्लाभित्र पनि कुन क्षेत्र मानव अधिकारको दृष्टिकोणले संवेदनशील छ भन्ने पनि जानकारी हुने हुँदा सोही अनुसार काम गर्न आफूहरुलाई सहज हुने उहाँले बताउनुभयो । यसवर्ष गतवर्षको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएपनि जिल्लाको पिछडिएका क्षेत्रबाट यस्ता घटमा बाहिर नआएको पनि हुनसक्ने हँदा त्यस तर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईले मानव अधिकार उल्लङ्घनका घटना हुनुको कारण के हो त्यसतर्फ इन्सेक सँग सँगै बसेर त्यसको निचोड निकाल्नुपर्ने कुरामा जोड दिनुभयो ।  इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरेर सराहानीय काम गरेको भन्दै आगामी दिनमा उक्त पुस्तकका लागि आवश्यक घटनाको सत्य तथ्य जानकारी दिन आफूहरु तयार रहेको उहाँले बताउनुभयो । इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले ६ महिनामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाहरु प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका घटनामा हत्या एक, धम्की कुटपीट (गैरराज्य पक्षबाट) एक, बालअधिकार अन्तर्गत बलात्कार तथा यौन दुव्र्यवहारका तीन, महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्तर्गत बलात्कार तथा यौन दुव्र्यवहारका पाँच, बहुविवाह एक, घरेलु हिंसा आठ  गरी जम्मा १९ ओटा घटना रहेका थिए । कार्यक्रममा बोल्दै जिल्ला बार इकाई रुकुम पश्चिमका अध्यक्ष अधिवक्ता रत्नबहादुर खड्काले मानव अधिकार हननका केही घटना छुट्न गएकोले र केही घटनामा थप अध्यावधिक गर्नुपर्ने देखिएकाले ती घटनालाई समेट्न सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत गरी २९ जनाको सहभागीता रहेको थियो ।

मनिषा केसी