इन्सेक गतिविधिहरू नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण तथा मानव अधिकारको अवस्थाका सन्दर्भमा छलफल सम्पन्न

कैलाली । २०८० वैशाख ११ गते

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी देवेन्द्रबहादुर पाललाई नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ हस्तान्तरण गरिनुको साथै जिल्लाको समग्र मानव अधिकारको अवस्थाका सन्दर्भमा वैशाख ११ गते छलफछ सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले एसपी पाललाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गर्दै जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे छलफल गर्नु भएको थियो । उहाँले नेपाल प्रहरीको संस्थागत सुधार भएपनि व्यक्तिगत सुधार हुन नसक्दा इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएका थुनुवाहरुलाई यातना दिएको गुनासो आउने गरेकाले निरीक्षण गर्न आग्रह गर्दै नेपाल प्रहरीले मानव अधिकार संरक्षण र सुरक्षा गर्ने जिम्मेवारी रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी देवेन्द्रबहादुर पालले नेपाल प्रहरीले प्रत्यक्ष नागरिकसँग जोडिएर काम गर्नु पर्ने हुनाले मानव अधिकारको संरक्षण र  सुरक्षा गर्ने प्रतिबद्धता जाहेर  गर्नु भयो । उहाँले भारतसँग खुला सिमानाका कारण लागुऔषध नियन्त्रण गर्न चुनौती रहेकाले नेपाल प्रहरीको एक्लो प्रयासले मात्र नभई सरोकारवालाहरुको सहकार्यमा राज्यले सचेतनामूलक कार्यक्रमका लागि नीति तथा कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो । इन्सेक सुदूरपश्चिम प्रदेशका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले ड्युटीमा खटीएका ट्राफीक प्रहरीले बिभिन्न बहानामा नागरिकलाई दुख दिने गरेकाले नेपाल प्रहरी, ट्राफीक प्रहरी र नागरीकबीच छलफल गर्न र कानुन कार्यान्वयनका क्रममा नागरिकलाई कानुनका बारेमा जानकारी गराउन पनि आग्रह गर्नु भयो ।

मैनामोती चौधरी