इन्सेक गतिविधिहरू बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्वलन

सुर्खेत । २०७९ भदौ १४ गते

बेपत्ता पारिएका नागरिकको सम्झनामा ०७९ भदौ १४ गते वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्र चोकमा दीप प्रज्वलन गरिएको छ । बलपूर्वक बेपता पारिएका नागरिकहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेक, एड्भोकेसी फोरम, नेपाल रेडक्रस सोसाइटी, द्वन्द्व पीडित साझा चौतारी, द स्टोरी किचेन र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै इन्सेकका प्रदेशका संयोजक नारायण सुवेदीले द्वन्द्वबाट प्रभावित व्यक्तिलाई न्याय दिलाउन सबै एक हुनु पर्नेमा जोड दिनु भएको छ । द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारका सदस्य आज पनि आफन्त पर्खिएर बसिरहेको भन्दै उहाँले प्रभावित व्यक्तिको खोजी कार्यमा लाग्नु पर्ने बताउनु भयो । जबसम्म पीडितले सत्य, न्याय र परिपूरण प्राप्त गर्दैनन तबसम्म इन्सेकले पीडितको पक्षमा आवाज उठाउन नछोड्ने संयोजक सुवेदीले बताउनु भयो ।

   

दीप प्रज्वलन कार्यक्रममा नेपाल रेड्क्रस सोसाईटी सुर्खेतका सभापति रामप्रसाद आचार्यले द्वन्द्व प्रभावित व्यत्तिको खोजीको लागि संस्था लागिपरेको बताउनु भयो । रेडक्रसले कतिपय बेपत्ता पारिएका व्यक्तिको खोजी गरी सत्य तथ्य छानबिन गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताउनु भयो । इन्सेकको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा ९९ जना व्यक्ति बेपत्ता रहेका छन् । सशस्त्र द्वन्द्वको समयमा कर्णालीमा २ हजार ७ सय ५ जना मारिएका र ४ सय ३२ जना अङ्गभङ्ग भएको इन्सेकका प्रदेश संयोजक सुवेदीले जानकारी दिनु भयो ।

प्रभा रावत