इन्सेक गतिविधिहरू शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नुवाकोट । २०८० असोज ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया कार्यक्रममा महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकको लगानीका लागि स्थानीय तहको बजेट नीति कार्यक्रम के छ ?, सामुदायिक विद्यालयमा अझै पनि स्वच्छ खानेपानी, बालमैत्री शौचालय र खेलकुदको लागि मैदान पर्याप्त नभएको, गाउँपालिकाबाट महिला र अतिविपन्न वर्गका लागि सीपमूलक र रोजगार सिर्जना गर्ने योग्यता के छन् ?, अर्थपूर्ण महिला सहभागिता र मानव अधिकारमैत्री कार्य व्यवस्थापन अवलम्बनमा स्थानीय तहको योजना के छ ?, अझै पनि स्वास्थ्य चौकीमा नेपाल सरकारले योजना गरेको ९८ प्रकारका निःशुल्क औषधि नपाएको, स्वास्थ्य संस्थाबाट विपन्न, दीर्घ रोगी, मानसिक बिरामीका लागि स्थानीय तहबाट के कस्तो योजना छ ?, महिला हिंसा न्यूनीकरण दलित र विपन्न लक्षित हाम्रा नीति योजना बारे अनुगमन के कसरी गरिन्छ ?, समुदायमा फोहोरको व्यवस्थित रूपमा वातावरणलाई असर नपार्ने गरी फाल्नको लागि स्थानीय सरकारबाट कसरी अनुगमन गरिन्छ ? महिला सञ्जालका लागि खरिद भएका सामान कहिले पाइन्छ?, अघिल्लो आर्थिक वर्षमा छुट्टाइएको महिला सञ्जालको बजेट १५ लाख रुपियाँ कहाँ कसरी खर्च गरियो ? जस्ता समस्याहरूको बारेमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले इन्सेक जस्तो मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको र अनुभव भएको संस्थाबाट महिला सशक्तिकरण र सार्वजनिक सेवा प्रवाह र महिला र बालबालिकाकाहरूको लागि गरेको योगदान प्रति आभार व्याप्त गर्दै आगामी दिनमा थप सहकार्य गर्ने बताउनु भयो । उहाँले गाउँपालिकाले महिला, दलित, अपाङ्गता भएका, ज्येष्ठ नागरिकको संरक्षण र उन्नतिको लागि सीपमुलक रोजगारीको कार्यक्रमका लागि थप योजना बनाई कार्यन्वयन गर्ने बताउनु भयो । उपाध्यक्ष तामाङले गाउँपालिकामा युवालक्षित र रोजगारी सिर्जना गरेर अगाडि बढाउने उल्लेख गर्नुभयो । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गाउँपालिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहजीकरण गरी महिला लक्षित सशक्तिकरण कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनु भयो । उहाँले कार्यक्रममा आर्थिक सशक्तीकरणका लागि थप कार्यक्रम गाउँपालिकामा गरिने जानकारी दिनुभयो । गाउँपालिकामा ज्येष्ठ नागरिक निःशुल्क दीर्घ रोगीलाई औषधि वितरण, मुटु रोग तथा विभिन्न स्वास्थ्यसँग सम्बन्धित समस्यालाई योजना बनाई अगाडि बढ्ने उहाँले बताउनु भयो । आगामी दिनमा महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढ्ने र थप सहजका लागि गैरसरकारी संस्थाहरूसँग सहकार्य गरी अगाडि बढाइने बताउनु भयो । इन्सेक परियोजना संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो । उहाँले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
नवदीप श्रेष्ठ