इन्सेक प्रदेश कार्यालयद्धारा निर्वाचन पूर्वको अवस्था अनुगमन
कैलाली । २०७९ कात्तिक २६ गते
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा परीपालना, मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन र मानव अधिकारको स्थितिका सम्बन्धमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशो नेत्तृत्वको टोलीले कात्तिक २३ गतेदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्लास्थित राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा, पत्रकार र प्रर्यवेक्षकहरुसँग भेटघट गरी निर्वाचनको तयारीका सम्बन्धमा छलफल गरेको थियो ।
इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी नेत्तृत्वको टोलीले निर्वाचन पूर्वको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा परीपालना, मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन र मानव अधिकारको स्थितिसम्बन्धमा कात्तिक २६ गते जिल्लास्थित सरोकारवाला पक्षहरुसँग भेटघाट गरी सूचनाहरु संकलन गरेको छ । अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेसँग प्रशासन कार्यालयमा भेट गरेर निर्वाचनमा सुरक्षाको प्रबन्ध, कर्मचारी परिचालन र आचारसंहिता पालनाको अवस्थाका बारेमा सूचना संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्वाचन सुरक्षा योजना बनाएर काम भइरहेको, मतदान अधिकृत तथा कर्मचारीलाई तालिम दिन थालिएको, निर्वाचन आचारसंहिताको पालन नभएको अवस्थामा सचेत पार्ने कार्य भइरहेको अनुगमन टोलीसँग छलफलका क्रममा बताउनु भयो । अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयका डिएसी नारायण डाँगीसँग भेटघाट गरी निर्वाचनमा सुरक्षाकर्मी परिचालन, मतदाता, उम्मेदवार र कर्मचारीेहरुको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी डाँगीले नेपाल प्रहरी, म्यादी प्रहरीलाई प्रमुख सुरक्षा कायम गर्ने जिम्मेवारीका साथ खटाइएको र शसस्त्र प्रहरी र नेपाली सेनालाई दोस्रो र तेस्रो सुरक्षा घेरामा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक जोशीले निर्वाचनमा स्थानीयको बुझाइ तथा अपेक्षा, आचारसंहिता पालनाको अवस्था र निर्वाचनमा नागरिक समाजको भूमिकाका बारेमा पत्रकार र नागरिक समाजका अगुवासँग पनि छलफल गरेको बताउनु भयो । आचारसंहिता पालना तुलनात्मक रुपमा राम्रो भएपनि राजनीतिक दलबाट पूर्ण रुपमा पालना हुन नसकेपछि आचारसंहिता पालनामा खबरदारी गरिरहेको नागरिक समाज, अछामका अध्यक्ष शंकरबहादुर रावले अनुगमन टोलीलाई जानकारी गराउनु भएको थियो । इन्सेक प्रदेश संयोजक जोशीले इन्सेकबाट खटिएका पर्यवेक्षकहरुको बैठक आयोजना गरी पर्यवेक्षकको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा पनि जानकारी गराउनु भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक जोशी नेत्तृत्वको टोलीले यसअधि बैतडी, डडेल्धुरा र डोटीमा निर्वाचन पूर्वको अवस्थाका बारेमा अनुगमन गरेको थियो ।
इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अनुगमन तथा निर्वाचन आचारसंहिताका सम्बन्धमा प्रशिक्षण कार्यक्रम कात्तिक २६ गते सिलगडीमा सम्पन्न गरेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा सबैले पालना गर्नु पर्ने बताउनु भयो ।
निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकार, मानव अधिकारकर्मी र निर्वाचन प्रर्यवेक्षकको ठुलो भूमिका हुने भएकोले कसैको डर, धम्की प्रलोभनमा नपरी निष्पक्ष रुपमा निर्वाचनको पर्यवेक्षण गर्न र सूचना सम्पेषण गर्न प्रदेश संयोजक जोशीले आग्रह गर्नु भयो । पत्रकार महासघ, डोटीका अध्यक्ष मोहन शाही, प्रेस संगठन, डोटीका अध्यक्ष नबराज जोशी र बिम्व साप्ताहिकका सम्पादक रामहरि ओझाले निर्वाचनलाई स्वाच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल लगायत पत्रकार, अधिकारकर्मीहरुले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आवश्यक भएको बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी