इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको सयुक्त टोलीद्धारा मानव अधिकारको अवस्थाको अनुगमन

कैलाली । २०७८ चैत २ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले गौरीगंगा नगरपालिकाबाट प्रवाह गरिदै आएका सेवा तथा त्यसको प्रभावकारीता र नगरपालिकाको समग्र मानव अधिकारको अवस्थाका सन्दर्भमा चैत १ गते अनुगमन गरिएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नगरपालिकाबाट प्रवाह गरिने शिक्षा , स्वास्थ्य, खाद्य र आवासको सेवालाई प्रभावकारी बनाउन र राज्यलाई बढी जवाफदेही बनाउने उद्देश्यले अनुगमन गरिएको बताउनु भयो ।

 

गौरीगंगा नगरपालिका  शिक्षा शाखा प्रमुख हरीश पन्तले नगरपालिकाका सबै विद्यालयमा निःशुल्क तथा गुणस्तरीय शिक्षाका लागि शिक्षक दरबन्दी रिक्त रहेका ठाउँमा नगर शिक्षकको व्यवस्था गरिएकाले आगामि दिनमा शिक्षामा सुधार आउने सयुक्त अनुगमन टोलीसँग बताउनु भयो । गौरीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरीप्रसाद भुसालले नगरबासीहरुको स्वास्थ्यमा पहुँच अभिबृद्धि गर्ने उद्देश्यले पालिकाको सबै वडामा आधारभूत स्वास्थ्य इकाइको स्थापना गरी जनशक्ति सहितको निःशुल्क स्वास्थ्य सेवा प्रवाह सुरु गरेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख मोहनदेव जोशीले मानव अधिकार समुहका पदाधिकारीहरुलाई मतदाता शिक्षा बारे जानकारी गराउँदै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको नियमित अनुगमन गरी  नागरिकको अधिकारको सुनिश्चितताका साथै राज्यलाई जवाफदेही बनाउन सयुक्त अनुगमन गरिएको बताउनु भयो । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव हरी जोशीले गैरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहले नागरिकको अधिकारका लागि राम्रो काम गरेको पाइएकोले मानव अधिकार समुहले गरेका राम्रा कामको मिडियामार्फत प्रचारप्रसार गरिने बताउनु भयो ।अनुगमनको क्रममा गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहलाई सकृय बनाउने उद्देश्यले कृष्ण खड्काको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार समुहको पुनर्गठन समेत गरिएको छ ।

मैनामोती चौधरी