इन्सेक र एम्स कलेजको आयोजनामा एक दिने मतदाता शिक्षा अभिमुखीकरण

रुपन्देही । २०७९ कात्तिक ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रूपन्देही र एम्स कलेज बुटवलको आयोजनामा एक दिने मतदाता अभिमुखीकरण कात्तिक ३० गते एम्स कलेजमा सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा १८ वर्ष माथि उमेर समूहका नयाँ मतदाताहरूलाई लक्षित गरेर मतदाता शिक्षाको आयोजना गरिएको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, मितव्ययी र भयरहीत वतावरणमा सम्पन्न गर्न निर्वाचनका विषयमा पहिलो पटक मतदान गर्ने  त्यस्ता मतदाताहरूलाई सुसूचित गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको सहजीकरण इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसीले गर्नु भएको थियो । सहजीकरणमा आधारभूत मानव अधिकार र मताधिकारको सम्बन्धको बारेमा जानकारी, मतदाताको भूमिका, जिम्मेवारी, अधिकार र कर्तव्यको बारेमा सजग बनाउन, लोकतन्त्र र निर्वाचनबिचको अन्तरसम्बन्ध, लोकतान्त्रिक निर्वाचनका मान्यताहरू, मतको गोपनीयता, प्रत्येक मतको महत्व, मतदान गर्ने तरिका बढीभन्दा बढी मत सदर होस् भन्ने मान्यता लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

कलेजका प्रबन्ध निर्देशक गोपालप्रसाद न्यौपानेले इन्सेकसँगको सहकार्यमा नयाँ मतदाताहरूलाई  मतदाता शिक्षा दिन पाउदा  आन्नदको अनुभूति भएको बताउनु भयो । कार्यक्रममा सहभागीको तर्फबाट शुसन भट्टराईले मतदान कसरी गर्ने, मतदान गर्दा जथाभावी गरेमा मत बदर हुने र के कुरामा ध्यान दिनु पर्ने रहेछ भन्ने कुराको जानकारी भएको भन्दै आगामी दिनमा अझै यस्ता खालका शिक्षा मुलक कार्यक्रम गर्दा इन्सेकसँग सहकार्य गरी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्या पाण्डेले निर्वाचनको संघारमा मतदाता शिक्षा पाउदा मतदान गर्न सजिलो भएको र यसले मत बदर हुने खतराबाट आफुहरु जोगिएकोले आफुहरु निक्कै उत्साहित भएको बताउनुभयो । नेपालको संविधान, निर्वाचन सम्बन्धी कानून, मतदाता शिक्षा नीति तथा आयोगबाट स्वीकृत मतदाता शिक्षा अवधारणा बमोजिम ०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रभावकारी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिका तयार गरी कार्यान्वयन गरेको छ ।

रीमा बिसी