इन्सेक र राजविराज नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सप्तरी । २०७९ मङ्सिर २० गते
इन्सेक, राजविराज नगरपालिका र सामुदायिक सेवा केन्द्रलगायतको आयोजनामा मङ्सिर २० गते राजविराजमा ‘लैङ्गिक हिंसा न्यूनिकरण’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित राजविराज नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा दुर्गा सेकेण्डरी विद्यालयका अभिनव यादव प्रथम हुनु भएको छ । पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयकी नेहा झा द्वितीय, ह्याप्पील्याण्ड सेकेण्डरी विद्यालयकी ज्योति साह तृतीय र लिटिल एञ्जेल मोर्डन सेकेण्डरी स्कूलका हर्षजित मिश्र सान्तवना पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो ।
पुरस्कृत प्रतियोगीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो। विजेताहरुलाई नगरपालिकाकी कार्यपालिका सदस्य ललिता कर्ण, सप्तरी सामुदायिक सेवा केन्द्रका हितनारायण लाल दास, इन्सेक सदस्य बैद्यनाथ झा र इन्सेक प्रतिनिधि एवम् १६ दिने अभियान मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले पुरस्कार वितरण गर्नु भयो । विद्यार्थीहरुलाई लैङ्गिक हिंसाका बारेमा जानकारी हुन सकोस् र उनीहरुले पनि न्यूनिकरणका उपाय अन्य सरोकारवालालाई जानकारी गराउन सकुन् भन्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।
मनोहरकुमार पोखरेल