कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

जुम्ला २०८० वैशाख २० गते

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी तिला गाउँपालिका –१ की २७ वर्षीया शान्ति नेपालीलाई वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरेको छ । चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाकी कमला कठायतलगायत व्यक्तिहरुको उपस्थितिमा सिफारिस संयन्त्रका संयोजक तथा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले पीडितलाई सहयोग हस्तान्तरण गरेका हुन् । ३५ वर्षीय जँग नेपालीसँग ०६५ सालमा सामाजिक परम्पराअनुसार विवाह गरेकी उहाँका १३ वर्षीया एक छोरी र १० वर्षीय एक छोरा छन् । मदिरा सेवन गरी निरन्तर घरेलु हिंसा गर्न थालेपछि न्यायालय पुग्नु परेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पतिलाई सुधार्नका लागि धेरै कोसिस गरे पनि मदिरा सेवन गर्न छाडेनन् । ज्यान बचाउनै मुस्किल भएपछि ०७९ फागुन २० गतेदेखि दिदी मनशोभा परियारको घरमा आश्रय लिँदै आएको उहाँले बताउनु भयो । ‘पतिदेखि आजित भएर सम्बन्धविच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०७९ चैत २७ गते मुद्दा दर्ता गरेको छु,’ उहाँले भन्नुभयो ।

यस्तै गुठीचौर गाउँपालिका– ३ गज्याङकोटकी २२ वर्षीया देवकी कामीलाई पनि न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । २६ वर्षीय बागबहादुर सुनारले ०७९ चैत ६ गते दोस्रो विवाह गरेपछि न्याय खोज्दै खलंगा पुग्नु भएको हो । चन्दननाथ नगरपालिका – १ तलिचौरकी २६ वर्षीया बेलमाया नेपालसँग दोस्रो विवाह गरेको उहाँले बताउनु भयो । पीडित देवकीले भन्नुभयो पतिले दोस्रो विवाह गरेपछि जिल्ला प्रहरी कार्यालयमा चैत १७ गते बहुविवाहसम्बन्धी उजुरी दर्ता गरेको छु । पति बागबहादुरसँग ०७४ मंसिर १७ गते सामाजिक परम्पराअनुसार विवाह गरेकी उहाँको एक छोरा छ । घरमा पत्नी र छोरा हुँदाहुँदै अर्काे विवाह गरी हिंसासमेत गर्ने गरेको देवकीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उजुरी त गरियो । तर, असुरक्षाको त्रास हुने गरेको छ । कतै एकान्तमा मार्ने हो कि भन्ने डरत्रास हुने गरेको छ ।’ पीडित दुवै जनाले न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले गठन गरेको सिफारिस संयन्त्रलाई सहयोग मागगर्दै निवेदन दिएका थिए । सोही बमोजिम दुवै जनालाई जनही ७ हजार रुपियाँ सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनुभयो ।

मानदत्त रावल