कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

कालीकोट । २०८० जेठ १३ गते

घरेलु हिंसाबाट पीडित सान्नित्रिवेणी गाउँपालिका–४ की २४ वर्षीया कोपिला शाहीलाई कानुनी प्रकृयामा जान इन्सेकले जेठ १० गते प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सहयोग गरेको छ । २४ वर्षीय पति पुष्प थापाले कुटपिट गरेर घरनिकाला गरेको र कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले गठन गरेको सिफारिस संयन्त्रमा सहयोगको लागि निवेदन दिएपछि इन्सेकबाट सहयोग हस्तान्तरण भएको हो । पीडितले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो ।

घर निकाला भएपछि माइतीको आश्रयमा बस्दै आएकी पीडित शाहीलाई सिफारिस संयन्त्र संयोजक एवम जिल्ला बार इकाई कालिकोटका अध्यक्ष अमलराज शाही र मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्लीप्रसाद चौलागाई इन्सेक जिल्ला प्रतिनिधि लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी माझीले सात हजार रुपियाँ हस्तान्तरण गर्नु भएको छ । घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदश कार्यालय मानव अधिकार सहायता कक्षलाई सहयोगका लागि चैत २४ गते निवेदन दिनु भएको थियो । सहयोग पाएपछि पीडित शाहीले कानुनी प्रकृयामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो ।

कालीबहादुर मल्ल