काभिड–१९ नियन्त्रणमा नागरिक समाजको भूमिका बढाउनु पर्नेः जिसस प्रमुख खुलाल

मकवानपुर । २०७७ असोज २६ गते

 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नागरिक समाजले जनचेतनाको क्षेत्रमा बढी काम गर्नुपर्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यलयले  हेटौँडामा असोज २६ गते आयोजना गरेको “कोभिड–१९ ले पारेको प्रभावः नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया” कार्यक्रममा जिसस प्रमुख खुलालले कोडिभ–१९ को सन्दर्भमा नागरिक समाजको भूमिकालाई बढाएर लानुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले कोभिड–१९ ले सबै क्षेत्र, सङ्घसंस्था प्रभावित भएको भन्दै सबै मिलेर अघि बढेमात्र यसलाई नियन्ज्ञण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामलाई साथ र सहयोग गर्न पनि सबैलाई प्रमुख खुलालले आग्रह गर्नुभयो । यस्तै जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले कोभिड–१९ को कारण विद्यालयहरू बन्द हुँदा बालबिवाह तथा हिँसाका घटनामा बृद्धि हुँदै गएको बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमणले सबै क्षेत्रमा चुनौति बढेको बताउनु भयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज बुद्धशरण लामाले प्रत्येक व्यक्ति नागरिक समाजको रूपमा भएकोले नागरिक समाज कुनै सङ्घसंस्था मात्रलाई नबुझ्न सबैलाई आग्रह गर्नुभयो । यस्तै स्थानीय तहले नागरिक सङ्घसंस्था तथा गैरसरकारी संस्थासँग कुनै पनि भूमिकाको खोजी नगर्ने समस्या रहेको उहाँले बताउनुभयो । लामाले कोभिड–१९ सङ्क्रमण अन्य विपद वा प्रकोपको रूपमा नभई मानिस–मानिस बीच सुरक्षित रहनुपर्ने अवस्था सिर्जित भएकोले पनि थप समस्या भएको बताउनुभयो । तर, पनि यस अवधिमा गैससले राहत वितरण देखि लिएर सबैखाले सहयोग गरेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा गैसस महासङ्घ बागमती प्रदेश उपाध्यक्ष आरती पाठकले विकासको लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यवस्थित, सुरक्षित विकासको लागि सञ्चार जगतको थप सक्रियताको खाँचो रहेको बताउनुभयो । उहाँले लकडाउनको समयमा घरेलु महिला हिँसामा बृद्धि भएको भन्दै त्यसफर्त ध्यान दिन आग्रह गर्नुभयो । पाठकले आफ्ना भनाई राख्ने क्रममा लकडाउनको अवधिमा भएका महिला हिँसाका घटनाहरूलाई समेटेर ९७ पेजको प्रतिवेदन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलाई बुझाएको बताउनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोभिड–१९ ले सिर्जना गरेको समस्या समाधानमा नागरिक समाजको भूमिका उदारहणीय रहेको बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण खान नपाएर सडकमा आएका नागरिकहरूलाई संरक्षण दिने काम सामाजिक सङ्घ संस्थाहरूले गरिरहेको भन्दै अझै एकताबद्ध भएर सो कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । राष्ट्रिय शिक्षक अभिभावक सङ्घका संयोजक अधिवक्ता ध्रुव चौलागाइंले कोभिड–१९ को कारण शिक्षा क्षेत्र बढी प्रभावित बनेको बताउनुभयो । उहाँले सरकारले वैकल्पिक शैक्षिक क्रियाकलाप अघि बढाउन भने पनि ग्रामीण भेगका विद्यार्थीलाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा कुनै कार्यविधि नभएको बताउनुभयो । कायर्यक्रममा सञ्चारकर्मी सुरेश श्रेष्ठले महामारीको समयमा नागरिकम समाजको खोजी भए पनि नदेखिएको बताउनुभयो ।

सरकारका कतिपय गलत कामहरूलाई निगरानी गर्ने, विज्ञप्ति निकाल्ने जस्ता कुनै पनि कामहरू नागरिक समाजेल गरेको नदेखिएको श्रेष्ठले बताउनुभयो । सञ्चारकर्मीहरूले नागरिकका समस्या, चिकित्सकलाई गरिएका दुव्र्यवहार लगाएतका विषयमा समाचार सम्प्रेषण गरिँदै आए पनि नागरिक समाजका भूमिकालाई मजबुद बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै सञ्चारकर्मी अधिवक्ता बालकृष्ण अधिकारीले कोभिड–१९ नियन्त्रणमा सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । महामारीको कारण देखाउँदै कतिपय सञ्चारगृहमा पत्रकारलाई निकल्ने, बेतलबी बिदामा राख्ने जस्ता समस्याहरू भोगिरहे पनि सचेतनाका लागि पत्रकारले सूचना तथा समाचार सम्प्रेषणमा कमी नगरेको बताउनुभयो ।

पुष्पराज अधिकारी