








स्याङ्जा । २०७८ कात्तिक ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कात्तिक ५ गते पुतलीबजार नगरपालिका–४ को श्री सरस्वती माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ कोष हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार चेतना समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सो रकम प्रदान गरिएको हो । कार्यक्रममा इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूह सदस्य लक्ष्मी विकले विद्यालयलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम बुझ्दै विद्यालयका सह–प्राध्यापक दिपक पौडेलले इन्सेकले पछिल्लो साल दिएको कोषको उपयोगिता बताउनुका साथै यस वर्ष सो रकमबाट विद्यालयमा सम्पन्न हुने क्रियाकलापको पनि जानकारी दिनुभएको थियो । कोषबाट विद्यालयमा बालबालिकाहरूको लागि चित्रकला, हाजिरी जवाफ, निबन्ध लेखन र वत्तृत्वकला जस्ता प्रतियोगिता गरिने उहाँले जानकारी दिनुभयो । उहाँले यस्ता प्रतियोगिताहरूमा विद्यार्थीहरू सहभागी हुँदा उनीहरूको आत्मबल बढने भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो । कार्यक्रममा बाल अधिकार चेतना समूहका सदस्य र विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण स्याङ्जा जिल्ला सहजकर्ता प्रतिक्षा गुरुङले गर्नुभएको थियो ।
तिलकुमारी थापा