कार्यवाहक मेयरद्वारा जग्गा दिलाउने प्रतिबद्धता
दैलेख । २०७७ माघ २२ गते
नारायण नगरपालिकाका कार्यवाहक मेयर एवं वडा नं. १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले नगर क्षेत्रका भूमिहीन परिवारलाई एक पटकका लागि जग्गा दिलाउने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ २१ गते सदरमुकाममा आयोजना गरेको आवासको अधिकार सम्बन्धि अन्तरक्रियामा श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । इन्सेकले गठन गरेको मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको अन्तरक्रियामा नारायण नगरपालिकाका वडा नं. १ र ७ लगायतमा आफैले उपभोग गरिरहेको जग्गाको पूर्जा नपाएका रातामाटे, नमूना बस्ती र किमगाउँका स्थानीयले आफ्ना समस्या उठाएका थिए ।
पत्रकार यज्ञराज थापाले राजनीतिक दलहरूले चुनावको बेला रातामाटे र नमूना बस्तीमा जग्गाधनी पूर्जा दिलाउने प्रतिबद्धता जनाए पनि सत्ता पाएपछि समस्या सुल्झाउन परिमाणमुखी काम नगरेको टिप्पणी गर्नुभयो । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले समयमै समस्या समाधान नहुँदा भूमिहीनको संख्या बढ्दै गरेको बताउनुभयो । कार्यक्रमका सहभागीहरूले नारायण नगरपालिकाका वडा नं. १ को रातामाटे, नमूनावस्ती र ७ पानतोला क्षेत्रमा भूमि उपभोग गरेकाहरूले जग्गाधनी पूर्जा उपलब्ध गराउन भूमिहीन तथा सुकुम्वासी समाधान आयोग दैलेखका पदाधिकारीहरूले कार्यभार थालनी गरेपछि डेलिगेसन जाने निर्णय गरेको छ ।
अमर सुनार