कावासोती नगरपालिकामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम

नवलपरासी (सुस्ता पूर्व) र २०७८ फागुन १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर र इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम फागुन १२ गते गरिएको छ । कावासोती नगरपालिकाको बाल विवाह उच्च रहेको कावासोती नगरपालिका–१ मा पहिलो चरणमा बाल विवाहविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेको मानव अधिकार समूह कावासोती नगरपालिकाका सदस्य दिपक शर्माले बताउनुभयो ।  उहाँले बाल विवाहको कारण शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा यो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

 

कार्यक्रमको सहजीकरण गर्दै शर्माले बाल अधिकार, बाल विवाहको लगायतको विषयमा साँझा बुझाइ आवश्यक रहेको बताउनुभयो । बाल विवाहको कारण सृजित समस्या र त्यसको न्यूनिकरणको लागि विद्यार्थी, शिक्षक, अभिभावक र समुदायको साँझा बुझाइ आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरु स्वयम्ले आफु बाल विवाह नगर्ने प्रतिबद्धता गर्ने र अन्य साथिहरुलाई पनि त्यसमा प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो । बाल विवाहको कारण बालबालिकाको स्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा परेको प्रभावको बारेमा उदाहरण दिदै बाल विवाह अन्त्यको लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जिल्लामा बाल विवाहको दर उच्च रहेको भन्दै यसको न्यूनिकरणको लागि सबै पक्ष एकजुट र प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले बाल विवाहविरुद्ध कानुनी कारबाही पनि थालिनुपर्ने बताउनुभयो । कानुनी रुपमा बाल विवाहविरुद्ध भएका प्रावधानहरुको बारेमा उहाँले जानकारी समेत गराउनुभयो । कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावकहरुले स्थानीय स्तरमा बाल विवाह भइरहेको भन्दै गरिबी, अशिक्षा, कानुनी प्रावधान बारेमा ज्ञान नहुनु र पछिल्लो समय सामाजिक सञ्जाल मार्फत भित्रिएको विकृती मुख्य कारण भएको बताउनुभएको थियो । कावासोती नगरपालिकाको अन्य स्थानमा पनि बाल विवाहविरुद्धको सचेतना अभियान सञ्चालन गरिने इन्सेक जिल्ला सहजकर्ता गंगा विश्वकर्माले बताउनुभयो ।

तिर्थराज डुम्रे