कावासोती नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
नवलपरासी (पूर्व) । २०७८ भदौ २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान एवम् कार्ययोजना निर्माण कार्यक्रम भदौ २२ गते सम्पन्न भएको छ । इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहले कार्यक्रममा कावासोती नगरपालिकामा शिक्षाको अधिकारका सवालमा सामुदायिक विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट शुल्क उठाएको, विद्यालयको भौतिक पूर्वधार अपाङ्ग तथा छात्रामैत्री नरहेको, विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या अत्याधिक रहेको, विद्यालयको सवारीले मापदण्ड विपरित क्षमता भन्दा बढी विद्यार्थी बसमा राख्ने लगायतको समस्याहरु पहिचान गरेको थियो ।
ती समस्याहरुको समाधानको लागि नगर शिक्षा शाखा, नगरपालिकाका जनप्रतिनिधि, शिक्षा समन्वय इकाई लगायत सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गर्न सकिने मानव अधिकार समूहले छलफलमा बताएका थिए । स्वास्थ्यको अधिकारका सवालमा नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको औषधिहरु स्वास्थ्य संस्थामा नपाइने तथा सो बारेमा सेवाग्राहीलाई जानकारी नरहेको, स्वास्थ्य विमा कार्यक्रमका लाभग्राहीहरुले आवश्यक सेवा प्राप्त गर्न नसकेको, कोभिड–१९ विरुद्धको खोप सबै नागरिकको पहुँचमा नपुगेको लगायतका समस्या पहिचान भएको थिए । यस विषयमा नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयसँग समन्वयको आवश्यकता रहेको बारे छलफल गरिएको थियो ।
खाद्यको अधिकारका सवालमा सुरक्षित र पोषण युक्त खानेकुराको प्रत्याभूति हुन नसकेको, बजारमा अनुगमन नहुँदा बजारमा म्याद गुज्रिएको सामग्री बिक्री वितरण भइरहेको जस्तम समस्या रहेको कार्यक्रममा पहिचान गरिएको थियो । सो समस्याको समाधान गर्न नगरपालिका स्तरीय अनुगमन समिति, उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हकहित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलाई सरोकारवाला निकाय पहिचान गरिएको छ । आवासको अधिकारमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी तथा यसको अन्यौलताको कारण भूमिहिन सुकुम्बासी दलित, अव्यवस्थित बसोबासीहरु प्रभावित भएको जस्ता समस्या पहिचान गरिएको छ । कार्यक्रममा बोल्दै इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले पहिचान भएका समस्याहरुलाई सम्बन्धित सरोकारवालाहरुसँग समाधानको लागि पहल गरिने बताउदै यसमा मानव अधिकार समूहको ठूलो भूमिका रहने बताउनुभयो । कार्यक्रममा मानव अधिकार समूह कावासोतीका सदस्य, विद्यार्थी, पत्रकार, बाल अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
तिर्थराज डुम्रे