कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
सुर्खेत । २०७७ फागुन ८ गते
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), स्वच्छ नेपाल र आइसीएनएलले फागुन ८ गते वीरेन्द्रनगरमा आयोजना गरेको कृत्रिम बौध्दिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठीका सहभागीहरूले सो कुरा औंल्याएका हुन् ।
सहभागीहरूले कृत्रिम बौध्दिकताको सही रूपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै यसको बाध्यात्मक गलत प्रयोगले समाजमा नकारात्म प्रभाव बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । अहिलेको सूचना र प्रविधिलाई सही रूपमा प्रयोग गर्न र यसलाई नियमन गर्न राज्यले आवश्यक कानुन निमार्ण गर्नुपर्ने उनीहरूको भनाई थियो । कृत्रिम बौध्दिकताको सही प्रयोग नगर्दा उक्त वर्गको मानव अधिकार संरक्षण सम्वर्धनमा आघात पुर्याएको, समाजमा विकृति फैलिएको, शिक्षा तथा स्वास्थ्यको अधिकारबाट निम्न वर्ग उपेक्षित हुन पुगेको र समानताको अधिकार खोसिएको सहभागीहरूको धारणा थियो ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले कृत्रिम बौध्दिकताको प्रयोग गर्दा हुने जोखिम र असुरक्षाको बारेमा जनस्तरसम्म चेतना फैलाउनु पर्ने खाँचो रहेको बताउनु भयो । जिल्ला स्थित अधिकारकर्मी, नागरिक संघ संस्थाका प्रतिनिधि, विभिन्न जातिय संस्थाका प्रतिनिधि, मानव अधिकार समूहका सदस्य र सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण आइसीएनएलका नेपाल प्रतिनिधि उत्तम उपे्रतीले गर्नु भएको थियो ।
दुर्गा थापा