कृषिमा बजेट बढाउने प्रतिबद्धता

सुर्खेत । २०७७ पुस २८ गते

 

लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै उपप्रमुख छन्तेलले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । बहुसंख्यक कृषकहरूको बसोबास रहेको लेकवेशी नपाका जनताहरूको आर्थिक समृद्धिका लागि आवश्यक रणनीति तयार गरिएको चर्चा गर्दै उपप्रमुख छन्तेलले कृषि उपजमा लाग्ने सिफारिस क्रण तथा रोयल्टीमा सुधार गरिने उल्लेख गर्नु भयो ।

अविभावकको नाताले लेकवेशी नपाका कृषकहरूले भोग्नु परेको सबै किसिमका समस्या समाधान गर्न लेकवेशी नपा प्रतिबद्ध रहेको उपप्रमुख छन्तेलको भनाई थियो । लेकवेशी नपा मानव अधिकार समूहका अध्यक्ष नीरू थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेकवेशी नपा–७ का वडाध्यक्ष चन्द्रबहादुर सुनार,  पशुसेवा कार्यालयका प्रमुख उमादत्त चपाई, कृषि प्रमुख गंगाराम चौधरी र साना किसान सहकारी संस्थाका प्रबन्धक हरिप्रसाद पौडेल लगायतले भनाइ राखेको थियो । इन्सेक सहजकर्ता विन्दुलाल रेग्मीले सहजीकरण गरेको कार्यक्रममा लेकवेशी नपाका कृषक र नागरिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

दुर्गा थापा