कैलारी गाउँपालिकास्तरीय वातावरण रक्षक सञ्जालको बैठक सम्पन्न
कैलाली । २०८० चैत ७ गते
कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूह तथा वातावरण अधिकार रक्षक सञ्जालको बैठक ०८० चैत ६ गते हसुलियामा सम्पन्नभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले समुदायस्तरमा उठानभएका सवालहरुको अध्ययन गरी मानव अधिकार समूह तथा वातावरण अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुलाई स्थानीय तहमा नीतिगत दबाब दिन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो— ‘स्थानीय तहको विकास निर्माणका कार्य होस् अथवा कुनै पनि सेवा प्रवाह गर्ने कुरामा गाउँपालिकाले व्यवस्थित सूचना तथा जानकारी दिनु पर्छ । यदी जानकारी नगरेको खण्डमा मानव अधिकार समूह तथा वातावरण अधिकार रक्षक सञ्जालले खबरदारी गर्नु पर्छ ।’
मानव अधिकार समूहका उपसंयोजक कुलराज चौधरीले मोहना नदीमा पुल नहुँदा वर्षायाममा शिवरत्नपुर र मोहनपुरका बालबालिकालाई विद्यालय आउन र जान समस्या भएर पठनपाठनमा समस्या भएको बताउनु भयो । मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले गाउँपालिकामा मानव अधिकार समूह दर्ता गर्न पटकपटक आग्रह गर्दा पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीले आलटाल गर्दै आउनुभएकोले यसका लागि इन्सेकले सहजीकरण गरि दिन आग्रह गर्नु भयो ।
मैनामोती चौधरी