कोभिड १९ को कारण सञ्चार क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्पन्न
कैलाली । २०७७ पुस ७ गते
डिसिए अन्तर्गत इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्य र नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को कारण सञ्चार क्षेत्रमा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम पुस ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले कोभिड १९ माहामारीको बेलामा बिस्थापित भएका, रोजगार गुमाएका, बिना तलब काम गरिरहेका, समाज तथा परिवारको बिभेद सहेर काम गरिरहेका पत्रकारहरुको रोजगारको ग्यारेण्टी राज्यले गर्नु पर्ने बताउनु भयो । सुदूरपश्चिम प्रदेश बन तथा पर्यटन मन्त्री माया भट्टले राज्यको चौँथो अङ्गको रुपमा रहेको मिडिया क्षेत्रले राज्यलाई सचेत र नागरिकलाई सूसुचित गर्ने, सत्य, तथ्य सुचना सम्प्रेषण गर्ने लगायतका महत्वपुर्ण कार्यहरु गर्दै आएकोले मिडिया क्षेत्रको संरक्षण र सम्बर्धनमा प्रदेश सरकार सदै सकारात्मक रहेको बताउनु भयो । प्रदेश सभा सदस्य पूर्णा जोशीले कोभिड १९ ले आर्थिक, सामाजिक, सास्कृतिक तथा सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको अवस्थामा मिडियाको ठुलो भुमिका रहेकाले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुका साथै लैङ्गिक हिंसा जस्ता घटनालाई बाहिर ल्याउनु पर्ने सुझाव दिनु भयो ।
सुदूरपश्चिम प्रदेश सरकारका न्यायाधीवक्ता कुलानन्द उपाध्यायले संविधानप्रदत मौलिक अधिकारमा कोभिड १९ ले सबै भन्दा बढी प्रभाव पारेको बताउँदै सञ्चार क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्र्यक्रम ल्याउनु पर्ने बताउनु भयो । वरिष्ठ पत्रकार मनमोहन स्वँरले कोभिड १९ को बेलामा सबै मिडियाबाट स्वास्थ्य केन्द्रित समाचार मात्रै सम्प्रेषण भएको तर, कोभिडले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पारेको प्रभाव बारे कुनै मिडियामा नआएको गुनासो गर्नु भयो । पत्रकार बिरबहादुर छत्यालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पत्रकारहरुको ठुलो भुमिका रहेपनि देशको संघीय संचनामा परिवर्तन भएको भएपनि पत्रकारीता क्षेत्रको विकासमा राज्यले ध्यान दिन नसकेको गुनासो गर्नु भयो ।
पत्रकार महासंघ, कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले मिडिया क्षेत्रले सरकारको तीनै तहको अनुगमन र नियमन गर्ने भएकाले राज्यले पत्रकारहरुलाई आफ्नो प्रतिपक्षीको दृष्टिकोणले हेर्ने गरेको आरोप लगाउनु भयो । महिला अधिकारकर्मी चित्रा पनेरुले कोभिडको जटिल परिस्थितिमा विश्वमा नै लकडाउन भएको बेला आफ्नो स्वास्थ्य तथा परिवारको ख्याल नगरी अग्रमोर्चामा रहेर सूचना सम्प्रेषण गरिरहेको पत्रकारहरुको संरक्षण र सम्बद्र्धन राज्यले गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले सुदूरपश्चिम प्रदेशमा पत्रकारिताः कोभिडको असर, चुनौती र अवसरको तथ्याङ्किय स्थिति अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
मैनामोती चौधरी