कोभिड-१९ विरूद्ध खोपको अवस्थाबारे अनुगमन

सुर्खेत । २०७८ साउन ७ गते

इन्सेक कर्णाली प्रदेश कार्यालयको नेतृत्वमा अधिकारकर्मीको टोलीले कर्णाली प्रदेशको कोभिड -१९ खोप तथा सङ्क्रमणको अवस्थाका बारेमा अनुगमन गरेको छ । टोलीले साउन ७ गते प्रदेश स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य सेवा कार्यालयमा गई कोभिड-१९ खोप र सङ्क्रमणको अवस्था बारेमा अनुगमन गरेको हो । कोभिड खोप भण्डारण गर्ने स्टोरको अभावमा स्वास्थ्य आपुर्ति केन्द्र नेपालगञ्जमार्फत कर्णाली प्रदेशका सबै जिल्लाहरूमा कोभिड खोप पठाइने गरेको र समयमै यस प्रदेशमा कोभिड-१९ विरूद्धको खोप उपलब्ध हुन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताउनु भयो । गत माघ १४ गतेदेखि यस प्रदेशमा कोभिड-१९ विरूद्धको खोप दिन सुरू गरेकोमा हालसम्म १ लाख ५८ हजार ७ सय ४८ जना नागरिकलाई खोप दिइएको निर्देशक खड्काले जानकारी दिनु भयो ।

उहाँका अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी प्रदेश राजधानी सुर्खेतमा १० हजार ९ सय ८१ सहित प्रदेशभर २० हजार भन्दा बढी कोभिडबाट निको भएका छन् । हाल सम्म यस प्रदेशमा ३ सय ७ जनाले कोभिडबाट ज्यान गुमाएकोमा सुर्खेतका मात्र २ सय ७ जना रहेको निर्देशनालयको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुरूप प्राथमिकताका आधारमा कोभिड-१९ विरूद्धको खोप प्रदान गरिदा उल्लेख्य प्रगति भएको बताउँदै नागरिकहरूले स्वास्थ्य मापदण्ड पालना नगरेको र खोपको अभावमा हाल पनि परीक्षण गरिएका मध्ये २५ प्रतिशतसम्म कोभिड सङ्क्रमण देखिएको निर्देशक खड्काको भनाइ छ । कोभिड-१९ को खोप उपलब्धतामा अन्य प्रदेशमा झैं कर्णाली प्रदेशमा पनि अनियमितता भएका गुनासाहरू आएको, दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा नियमित खोप केन्द्रहरूको अनुगमन हुन नसकेको र २/४ दिनभित्रै यस प्रदेशमा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध हुने निर्देशक खड्काले जानकारी दिनु भयो ।

यस्तै माघ १४ गते यता हालसम्म जिल्लामा प्राथमिकताका आधारमा ४२ हजार ६ सय ५८ जनालाई खोप प्रदान गरि सकिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले बताउनु भयो । खोप उपलब्ध हुनासाथ ५५ वर्ष माथिकालाई खोप प्रदान गरिसकेपछि मात्र ५० देखि ५४ उमेर समूहका नागरिकहरूलाई जोन्सन एण्ड जोन्सन खोप लगाइने प्रमुख वाग्लेले जानकारी दिनु भयो । अनुगमनको क्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले महामारीको रूपमा फैलिएको कोभिड-१९ विरूद्धको खोप समयमै उपलब्ध गराउन नागरिक संस्थाहरू सरोकारवाला निकायहरूसँग समन्वय गरी अघि बढ्न तयार रहेको बताउनु भयो । अनुगमनमा पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई, शाखा अध्यक्ष ललित बसेल, मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पिताम्बर ढकाल, जिल्ला बार एशोसिएशनका कोषाध्यक्ष गीता कोइराला र दलित महिला संघ सुर्खेतका खगीसरा वलीको उपस्थिती रहेको थियो ।

दुर्गा थापा