क्षमता अभिवृद्धि तालिम सम्पन्न

सुर्खेत । २०७७ असोज ३० गते

 

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा न्यायिक समिति, सामुदायिक मेलमिलापकर्ता र मानव अधिकार समूहका सदस्यहरुको क्षमता अभिवृद्धि एक दिने तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वीरेन्द्रनगर नपा १० का वडाध्यक्ष रत्नबहादुर बुढाले शिक्षा, स्वास्थ्य, खाद्य, आवास, लैङ्गिक, दलित, महिला तथा यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चितताका लागि समाज रुपान्तरणको खाँचो रहेको बताउनुभयो ।

वीरेन्द्रनगर नपा न्यायिक समितिका सदस्य रामकुमारी थापा, मानव अधिकार समुहका अध्यक्ष लक्ष्मी शर्मा वीरेन्द्रनगर नपा १२ का मेलमिलापकर्ता संयोजक भगवान प्रसाद जैसीले तालिम फलदायी रहेको धारणा राख्नु भएको थियो । इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले समुदायमा हुने विवादको निरूपणका लागि न्यायिक समिति, सामुदायिक मेलमिलापकर्ता र मानव अधिकार समूहको क्षमता अभिवृृद्धि गरी स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि सक्षम बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

वीरेन्द्रनगर नपाका १६ वटै वडाका सामुदायिक मेलमिलापकर्ता संयोजक जनप्रतिनिधी, न्यायिक समितिका सदस्य, कर्मचारी र मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको तालिममा शिक्षा, स्वास्थ्य खाद्य, आवास, महिला तथा यौनिक अल्पसंख्यकहरूको अवस्था र समस्या पहिचान गरिएको थियो । तालिममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक एवम् अधिवक्ता सुजन पन्तले महिला सिमान्कृत तथा अल्पसंख्यकहरूको अधिकार र उपप्राध्यापक कमल लम्सालले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचान तथा योजना निमार्ण सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।

दुर्गा थापा