








धनुषा । २०७८ असार १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १५ गते क्षिरेश्वरनाथ नगरपालिकामा स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागिहरूले कोरोना महामारीको क्रममा स्वास्थ्य क्षेत्रमा ठुलो असर परेको बताएका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले कोभिडको समयमा नगरपालिकाले जनताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै १५ ओटा क्वारेण्टाइन सञ्चालन गरेको बताउनु भयो ।
सर्वसाधारणहरूका लागि प्रादेशिक प्रयोगशालाको समन्वयमा नगरमा कोभिडको परीक्षण अभियान सञ्चालन गर्नुका साथै यस रोगबाट बच्नका लागि कोभिडको खोप सञ्चालन गरेको बताउनु भयो । क्षिरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर यादवका अनुसार एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्य चौकी र ६ आधारभुत सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । क्षिरेश्वरनाथ नगरपालिकामा इन्सेकले कार्यक्रम राखेर काम गर्ने हौसला बढाएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।
स्वास्थ्य व्यवस्थापन समितिका सदस्य तथा दुधमति प्राथमिक विद्यालयका प्रध्यानाध्यापक सुर्यनाथ यादवले कोभिड–१९ को महामारीको दोश्रो लहरको समयमा शिक्षकहरूको लागि खोपको व्यवस्था नगरपालिकाले नगरेको आरोप लगाउनु भयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष शोभा भण्डारीले सबै वडाका बासिन्दाहरूको स्वास्थ्य सेवामा पहुँच हुने गरी स्वास्थ्य सेवा पुर्याउनु पर्ने उल्लेख गर्दै महेन्द्रनगरमा ट्रमा सेन्टरको आवश्यकता रहेकाले नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
दिपेन्द्रप्रसाद सिंह